काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ चोटग्रस्त भएकी छन् । अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ भण्डारीले घुँडाको गम्भीर चोटका कारण ए–लिगको बाँकी खेल गुमाउने भएकी हुन् ।
ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको छ । एमआरआई परीक्षणपछि उनको पुरानै एसीएल ग्राफ्ट पुनः टियर भएको पुष्टि भएको क्लबले जनाएको छ।
साम्बाले सन् २०२१ मा पनि दाँया घुँडाको शल्यक्रिया गराएकी थिइन्। अब उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनेछिन्।
वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई सबैले माया गर्ने व्यक्ति भएको बताउँदै टोली उनको चोटबाट निकै दुःखी भएको भनिन्। साम्बाले छिटो फर्कने दृढ इच्छा देखाएको पनि उनले बताइन्।


