पार्टी निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही हुन्छ‍– शेरधन राई

नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले पार्टीको नीति, पद्धति र निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

एमाले कोशी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले एमाले संस्थागत पद्धतिमा चल्ने पार्टी भएको स्पष्ट पारे ।

उनले पार्टीभित्रै बसेर पार्टीकै हितविपरीत काम गर्ने वा संस्थागत निर्णयलाई चुनौती दिने छुट कसैलाई नभएको चेतावनी दिए ।

‘पार्टीको नीति, उद्देश्य र अभियानमा सबै नेता–कार्यकर्ताविना सर्त सहभागी हुनुपर्छ’, राईले भने, ‘यदि कसैले फरक ढंगले प्रस्तुत हुने वा पार्टीको विधिको अवज्ञा गर्न खोजेमा अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’

पत्रकार सम्मेलनमा सचिव राईले कुनै नेताको नाम किटान नगरे पनि पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि र ईश्वर पोखरेल समूहको गतिविधिप्रति लक्षित गर्दै कडा टिप्पणी गरे ।

पोखरेल समूहले छुट्टै भेला गरेको र सामाजिक सञ्जालमा नेतृत्वप्रति कडा धारणा राखेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले पार्टीको अनुशासन सबैका लागि बराबर हुने बताए ।

नेता राईले ११ औं राष्ट्रिय महाधिवेशनले एमालेलाई थप एकताबद्ध बनाएको दाबी गरे । ‘एमाले विभाजित हुने विपक्षीहरूको सपना चकनाचुर भएको छ’, उनले भने, ‘महाधिवेशनले नयाँ म्यान्डेट र उत्साह प्रदान गरेको छ, अब पार्टी सशक्त ढंगले जनताको बीचमा जान्छ ।’

पार्टीमा कुनै पनि प्यानल वा गुटको अस्तित्व नरहेको जिकिर गर्दै उनले निर्वाचनमा सहभागी सबै सदस्य पार्टीकै विधि र प्रक्रियामा बाँधिनुपर्नेमा जोड दिए । साथै, उनले एमाले १५ दिनभित्र निर्वाचन भए पनि सामना गर्न सक्ने गरी तयारी अवस्थामा रहेको बताउँदै वर्तमान सरकारले चुनावलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।

यसैगरी, राईले लोकतन्त्र र संविधानको रक्षाका लागि कोशी प्रदेशका १४ वटै जिल्ला र प्रमुख शहरमा विभिन्न स्वरूपका आन्दोलन शुरू गर्ने घोषणा गरे ।

विगतमा भएका अराजक गतिविधि र हिंसा रोक्न एमालेले नागरिक सुरक्षाको जिम्मेवारी बहन गर्दै आन्दोलनमा उत्रने उनको भनाइ छ ।

प्रदेश सरकारको सन्दर्भमा बोल्दै राईले मन्त्रिमण्डल पुनर्गठनको समय भइसकेको उल्लेख गरे । यसबारे मुख्यमन्त्री र अन्य सत्ता साझेदार दलहरूसँग परामर्श गरी उपयुक्त समयमा निर्णय लिइने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस