काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री थापाले कांग्रेस राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका हुन् ।
कांग्रेसको महाधिवेशनमा उम्म्ेदवार बन्ने तयारी उनको छ । उनी माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् । थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ । उनले सक्रिय राजनीति गर्न आफूले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएको बताएका छन् ।
कांग्रेसको महाधिवेशन यही पुसको २६ देखि २८ गतेसम्म हुँदै छ ।
थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । आजीवन पञ्चायती राजनीति गरेका सूर्यबहादुर थापाको निधनपछि पूर्वमन्त्रीसमेत रहेका सुनिल थापा कांग्रेस प्रवेश गरेका थिए ।


