एसीसी कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको सामान्य लक्ष्य, फेरि पनि ब्याटिङमै समस्या

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले बंगलादेशलाई एक सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये ३१.१ ओभरमै अलआउट हुनुअघि एक सय ३० रनमात्र बनाउन सक्यो ।

बंगलादेशविरुद्धको खेलमा पनि नेपाली ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

माथिल्लो क्रमका ब्याट्सम्यानको प्रदर्शन त झनै निराशाजनक रह्यो । आठौं नम्बरमा क्रिज समाल्न आएका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । उनले ४३ बलमा दुई छक्का हिर्काए ।

सातौं नम्बरका ब्याट्सम्यान आशिष लुहारले टोलीको खातामा २३ रन थपे । विकेटकिपर ब्याट्सम्यान आशिषले ४१ बलमा एक चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान साहिल पटेल १८ र निरज कुमार यादव केवल १४ रनमा पेभेलियन फर्किए । वंश क्षेत्री चार र सिबरिन श्रेष्ठ पाँच रनमै आउट भए । युवराज खत्रीले ६ रन बनाए ।

निश्चल क्षेत्रीले खातासम्म खोल्न सकेनन् । कप्तान अकोश धामी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।

विपिन शर्माले पनि खाता खोल्न सकेनन् । दयानन्द मण्डल दुई रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रूपमा २३ रन पायो ।

बंगलादेशी टोलीका बलर मोहम्मद सोबुजले तीन विकेट लिए । साद इस्लाम, शाहरिया अल–आमिन र अजिजुल हकिमले दुईरदुई विकेट लिए ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा पनि श्रीलंकाविरुद्ध नेपाली टोलीका ब्याट्सम्यानले निकै कमजोर प्रदर्शन गरेका थिए । उक्त खेलमा नेपाली टोली केवल ८२ रनमा समेटिएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस