हङकङ सिक्सेस : सन्दीप, राशिद र आदिल बने उत्कृष्ट खेलाडी

काठमाडौं । हङकङ सिक्सेस प्रतियोगितामा नेपाली क्रिकेट टोलीका सदस्यहरूले चार वटा पुरस्कार जितेका छन् ।

गत आइतबार सम्पन्न फाइनलमा कुवेतलाई ४४ रनले हराउँदै पाकिस्तानले छैटौँ पटक यो प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रतियोगितामा नेपालले खेलेका चार खेलमध्ये एक खेलमा मात्रै जित्न निकाल्न सकेपनि खेलाडीहरूले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले भारतलाई ९२ रनले हराउँदा पहिलो खेलमा अफगानिस्तान, दोस्रो दक्षिण अफ्रिकासँग र श्रीलङ्कासँग हारेको थियो ।

तर, नेपाली टोलीका कप्तान सन्दीप जोरा बेस्ट ब्याट्सम्यान घोषित भएका छन् । उनले प्रतियोगितामा १७६ रन बनाए । उनी धेरै छक्का प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । जोराले २३ छक्का प्रहार गरेको हङकङ सिक्सेसले जनाएको छ ।

प्रतियोगितामा बेस्ट बलर पनि नेपालकै राशिद खान बनेका छन् । उनले ९ विकेट लिए । जसमा भारतविरूद्ध उनले तीन विकेट लिएका थिए । यस्तै, धेरै क्याच गर्ने खेलाडी पनि नेपालकै मोहमद आदिल आलम बनेका छन् । उनले सात क्याच गरेका छन् ।

प्लेअर अफ द टुर्नामेन्ट भने उपाधि विजेता पाकिस्तानका अब्बास अफ्रिदी बने ।

नेपालसहित १२ टोली सहभागी प्रतियोगितामा नेपाल भने भारतलाई उछिन्दै ११औँ स्थानमा रह्यो ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस