जेन–जीका नाममा धम्की आइरहेको भन्दै जनप्रतिनिधिले मागे प्रधानमन्त्रीसँग सुरक्षा

जेन–जीका नाममा धम्की आइरहेको भन्दै नगरपालिका र गाउँपालिका संघले प्रधानमन्त्री सुशीला कार्कीसँग सुरक्षाको माग गरेका छन् । सोमबार नगरपालिका र गाउँपालिका संघका पदाधिकारीले संयुक्त रूपमा प्रधानमन्त्री कार्कीलाई भेटेर सुरक्षा पाउँ भन्दै ज्ञापन बुझाएका हुन् ।

गत भदौ २३ / २४ गते भएको आन्दोलनपछि जेन–जीका नाममा स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई राजीनामा दिन तथा कार्यसम्पादन प्रक्रियामा अनावश्यक दबाब दिएको प्रधानमन्त्री कार्कीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘जेन–जीको नामबाट स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई राजीनामा दिन तथा कार्यसम्पादन प्रक्रियामा अनावश्यक रूपमा दबाब दिने कार्य अझै पनि भइरहेकोले शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी भयरहित रूपमा सेवा प्रवाहलाई सुचारु गर्न आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, चोरी, लुटपाटमा संलग्नहरूलाई अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई शान्ति सुव्यवस्था कायम भएको विश्वसनीय वातावरण बनाउन माग गर्दछौँ ।’

स्थानीय सरकारलाई करारका कर्मचारी राख्न नपाउने सोलोडोलो निर्देशनले स्थानीय तहमा एम्बुलेन्स, दमकल, सरसफाइ, स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक दैनिक सेवा प्रवाह गर्न नसकिने अवस्था बनेको विषयमा पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ ,‘स्थानीय तहमा एम्बुलेन्स, दमकल, सरसफाइ, स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक दैनिक सेवा प्रवाह गर्ने नसक्ने अवस्था बनेको छ । एकातिर संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई स्वीकार नगर्ने र अर्कोतर्फ प्रदेश सरकारले कर्मचारी किताबखानामा दरबन्दी दर्ता नगर्ने तथा प्रदेश लोक सेवा आयोगले समयमा नै पदपूर्ति प्रक्रिया पूरा नगर्दा करारबाट सेवा प्रवाह गरिरहेका छौँ ।’ नगरपालिका र गाउँपालिका संघले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने पनि बताएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस