विजौरी । अघिल्लो आर्थिक बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाण्डौले दिएको कोटा अनुसार धान खरी दगर्न अक्षम भएपछि तुलसीपुरस्थीत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लामा धान खरिदका लागी न्युन कोटा मात्र पाएको छ । यो कोटामा धान खरिद गर्दा गढवा गाउपालिकाको धान मात्र कम्पनीले खरिद गर्ने अन्तिम तयारी गरेको कम्पनीले जनाएको छ ।
अघिल्लो बर्ष केन्द्रले तुलसीपुर केन्द्रलाइ ८ हजार क्वीण्टल धान खरीद गर्नका लागि कोटा दिएको थियो । तर केन्द्रको ढिलासुस्तीका कारण १ हजार ६ सय ३२ क्वीण्टल मात्र धान खरीद गर्न सक्यो । यहि कार्यक्षमताको मुल्यांकन गर्दै यो बर्ष यति थोरै मात्र कोटा दिएको खाद्ध व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका सुचना अधिकारी शक्तिराम डांगीले भने । अघिल्लो बर्ष धान खरीद प्रक्रियामा केहि ढिला भएका कारण तोकिएको परिणाममा धान खरिद गर्न नसकिएको पनि उनले बताए । पछि पालिकालाइ सम्पर्क गर्दा सवै धान व्यापारीहरुले खेतबाटै उठाइसकेको जानकारी पाएको पनि उनले बताए ।
‘प्रक्रिया मिलाउन केहि ढिला भयो, जुनवेला हामीले धान खरिद सुरु गर्यौ, व्यापारीहरुले धान खेतबाट उठाइसकेका थिए’‘सुचना अधिकारी’ डांगीले भने । अघिल्लो बर्ष तोकिएको कोटा अनुसार धान खरिद गर्न नसकेकै कारण यो बर्ष केन्द्रले निकै कम कोटा दिएको पनि उनले बताए । यो बर्ष धेरै पालिकाबाट धान खरिदका लागि माग आएको भएपनि कम्पनीले कोटा नभएका कारण एउटा पालिकाको मात्रै धान खरिद गर्ने अन्तिम तयारी गरेको छ ।
गढवा गाउपालिकाले सुरुदेखिनै धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बेच्नका लागी केन्द्र सम्म पहुच पु¥याएका कारण यहांको कार्यालयले धान खरिद गर्न आवस्यक वोरा र ढक तराजु गढवा गाउँपालिकामा लगीसकेको बताइएको छ । अन्य पालिकालाइ यो बर्ष धान खरिद गर्न नसकिने कार्यालयले बताउदै आएको छ ।
लमही नगरपालिका र राप्ती गाउपालिकाले धान विक्रिका लागी खाद्यलाई पटक–पटक सम्पर्क गरेपनि खरिद प्रक्रिया सुरु नभएको बताएका छन् । ‘गोदाम समेत तयारी भैसकेको छ, तर खाद्यले धान खरिद गर्ने आश्वासन दिएको छैन’, लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने ।
उनले तुलसीपुरस्थीत खाद्यको कार्यालयमा यो विषयमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि संपर्क नभएको बताएका छन् । कार्यालयको अहिले न ल्याण्डलाइन फोन चालु छ, नत कार्यालय प्रमुखको अफिशियल नंवरनै चलेको छ । यसले धान विक्रिको तयारी गरेका पालिकाहरु हैरान भएका छन् ।
खाद्यमा धान विक्रि गर्दा सरकारले तोकेको मुल्य पाइने भएकाले किसानहरु खाद्यलाई धान विक्रि गर्न आतुर हुन्छन् । सम्बन्धित पालिका मार्फत खाद्यले धान खरिद गर्ने कार्यविधि छ । तर खाद्यले धान खरिद नगरीदिंदा किसानहरु सस्तोमा व्यापारीलाई धान विक्रि गर्न बाध्य छन् । जिल्लाका अधिकांश किसानहरुले धानलाइ गोदाममा स्टोर गर्न चाहंदैनन् । धेरैजसो किसानहरुले थ्रेसर लगाएकै दिन खेतबाटै धान विक्रि गर्ने गर्दै आएका छन् । खेतमै धान लिन धान व्यवसायीहरु निकै हतारोमा छन् ।
यो बर्ष धान उत्पादन निकै राम्रो भएको बताइएको छ । त्यसैले धानको उचित मुल्य नपाइनेमा किसान चिन्तित छन् । आफुले उत्पादन गरेको कृषि उपजको बजार नपाउनु एउटा समस्या छ भने लागत मुल्यमा पनि विक्रि गर्न नपाउदा किसानहरु कृषि पेषाबाट पलायन हुन थालेका छन् । कृषिमा आधुनिकरण र वैज्ञानिक कृषि प्रणालिसंगै धान उत्पादन बृद्धि हुदै गएपनि सरकारको समर्थन मुल्यमा किसानले हरेक बर्ष धान विक्रि गर्न पाएका छैनन् । जिल्लामा खाद्ध व्यवस्था तथा व्यापार कम्पनी भएरैपनि धान खरिदमा कोटा प्रणालि लागु हुदा किसानहरु मर्कामा छन् । खाद्यले खरिद गरेको धान टेण्डर प्रक्रिया मार्फत धान निजि मिलहरुलाई बेच्ने गरेको छ । अघिल्लो बर्ष यहां खरिद गरेको धान वाराको एउटा मिलले लगेको थियो ।
सरकारले मोटो धानको मुल्य प्रति क्वीण्टल ३ हजार ४ सय ८३ रुपैया ८१ पैसा र मध्यम धानको मुल्य प्रतिक्वीण्टल ३ हजार ६ सय २८ रुपैया ३३ पैसा तोकेको छ । सवै प्रकारका हाइबृड धान तथा स्थानिय विन्देश्वरी धान मोटो धान मानिन्छन् । खाद्यले दाङबाट खरिद गर्ने मोटा धान मात्रै हो । तर खाद्धले धान खरिद नगरीदिंदा किसानहरुले मोटा धानलाई प्रति क्वीण्टल ३ हजार देखि ३२ सय रुपैया सम्ममा विक्रि गर्न बाध्य भएको किसानहरुले बताएका छन् । मसिनो धान भने खाद्धले दाङबाट खरिद गर्दैन । मसिनो धानको मुल्य केन्द्रले नभएर जिल्लाले तोक्ने गरेको छ ।
जिल्लामा मसिनो धानको मुल्य प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कृषि ज्ञान केन्द्र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रतिनिधिको बैठकले निर्धारण गर्ने कानुनी व्यवस्था छ । दाङमा रहेको ७४ हजार तीन सय ३६ हेक्टर खेती योग्य क्षेत्रफल मध्ये धान खेती हुने क्षेत्रफल ३७ हजार दुई सय २५ हेक्टर हो ।


