राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० कात्तिकसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार दोहा पुगेका छन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन प्रथम महिला सविता पौडेलसहित कतारको दोहा पुगेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेललगायत दूतावासका उच्चपदस्थ पदाधिकारी संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई १८ कात्तिकमा सम्बोधन गर्ने कार्यक्रम छ । साथै, राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति पौडेल २० कात्तिकमा स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस