काठमाडौं । कांग्रेसमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा समूहले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिकाको तयारी गरेपछि संस्थापन पक्षले पनि चुनावपछि महाधिवेशन गर्नेगरी छुट्टै कार्यतालिका ल्याउने तयारी गरेका छन् ।
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार पदाधिकारीको बैठक डाकेका थिए । नेताहरूका अनुसार, त्यस बैठकमा चुनावअघि कि पछि कार्यतालिका भन्नेमा विवाद देखिएको थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि नियमित महाधिवेशनलाई प्राथमिकतामा राखेका थिए । उनीहरूले तत्काल कार्यतालिका पारित गरी पुसको मध्यसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर, संस्थापन पक्षका पदाधिकारीहरूले चुनावमा जाने कि महाधिवेशनमा जाने छनोट गर्न महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।
उनीहरूले चुनावमा जाने भए महाधिवेशनमा जानु असान्दर्भिक हुने र संसद् पुनस्र्थापनाको मुद्दामा उभिएर चुनावमा नजाने निर्णय गर्ने हो भने महाधिवेशनका लागि वातावरण उचित हुने तर्क गरेका थिए ।
त्यस क्रममा महामन्त्री थापाले पदाधिकारीको सहमतिमा बैठकमा एजेन्डा लैजाने अभ्यास भए पनि महाधिवेशनका विषयमा संस्थापनले देखाएको असहमतिले आफू बिनासहमति पनि एजेन्डा लैजाने बताएको एक पदाधिकारीले जानकारी दिए ।
त्यसपछि सहमहामन्त्रीद्वय महेन्द्र यादव र उमाकान्त चौधरीले पनि छुट्टै प्रस्ताव लैजाने चेतावनी दिएका थिए ।
पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे र जीवन परियारले नियमित महाधिवेशनको तालिका लिएर समझदारीमा अघि बढ्नुपर्ने तर्क राखेका थिए ।
तर, सहमहामन्त्रीहरू महेन्द्र यादव, उमाकान्त चौधरी, किशोरसिंह राठौरसहितले चुनावमा जाने वा महाधिवेशनमा जाने छनोट गर्नुपर्ने भन्दै पार्टी चुनावमा जाने भए चुनावपछि मात्र महाधिवेशन हुनसक्ने बताएका थिए ।
त्यसपछि संस्थापन पक्षको छुट्टै गुट भेला भएको थियो । भेलामा सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना र भीष्मराज आङ्देम्बेले अहिले पुसकै कार्यतालिका ल्याएर चुनाव नभए सम्भव समयमा महाधिवेशन गर्ने, चुनाव भए चुनावपछि गर्ने गरी समझदारी गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
भेलामा लाइनभन्दा बाहिर धारणा नराख्न आग्रह गर्दै सहमहामन्त्री राठौरले समूहबाट अलग भएको घोषणा गर्न चुनौती दिएका थिए । आज पनि सानेपामा कार्य सम्पादन समिति बैठक चलिरहेको छ । बैठकबाट एउटै प्रस्ताव लैजाने प्रयास भइरहेको छ ।


