मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

सिंहको राजीनामालाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज स्वीकृतसमेत गरेकी छिन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अर्को व्यवस्था नभएसम्मका लागि सिंह नेतृत्वको मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ ।

सिंहले २०८१ साल जेठ २४ गतेदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । सरकारमा सहभागी जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने निर्णय गरेका थिए । तर, प्रदेशसभामा सम्बोधन गरेपछि उनले राजीनामा दिएका हुन् ।

अब के हुन्छ ?

संविधानको व्यवस्थाअनुसार अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्नेछ । नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले कार्यवाहक रूपमा प्रदेश सरकारको जिम्मेवारी सम्हाल्नेछ ।

मधेश प्रदेशसभामा कुनै दल वा गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस