दक्षिण अफ्रिकासँग हारेपछि भारत दबाबमा, अस्ट्रेलिया र इङ्ल्यान्डमात्र अपराजित

आईसीसी महिला एकदिवसीय विश्वकपको आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि आयोजक राष्ट्र भारत दबाबमा परेको छ । दक्षिण अफ्रिकाले बिहीबार राति खेलिएको खेलमा भारतमाथि तीन विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो ।

उक्त खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने ४८.५ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

यो हारपछि भारतीय टोली अंक तालिकाको तेस्रो स्थानमा खुम्चिएको छ । महिला एकदिवसीय विश्वकपको १३औँ संस्करण भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको छ । प्रतियोगिता आगामी नोभेम्बर २ तारिखसम्म चल्नेछ ।

प्रतियोगितामा आठ राष्ट्र सहभागी छन् । दक्षिण अफ्रिकासँगको हारअघि भारतीय टोली पनि अपराजित थियो । तर, उक्त नतिजापछि जारी विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्डमात्र अपराजित छन् । बाँकी ६ वटै टोलीले कम्तिमा एउटा खेल हारेका छन् ।

तीन खेल खेलेको अस्ट्रेलिया पाँच अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलमा जीत हात पारेको अस्ट्रेलियाको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । दुई खेल खेलेको इङ्ल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ । इङ्ल्यान्डले आफूले खेलेको दुवै खेलमा जीत हात पारेको छ ।

तीन खेलबाट चार अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा छ । इङ्ल्यान्डसँग समान अंक भए पनि भारत नेट रन रेटमा पछाडि परेको हो । तीन खेल खेलेको दक्षिण अफ्रिका चार अंकसहित चौथो स्थानमा आसिन छ ।

यसैगरी, दुई खेल खेलेको बंगलादेश दुई अंकसहित पाँचौँ, दुई खेल खेलेको श्रीलंका एक अंकसहित छैटौँ र दुई खेल खेलेको न्युजिल्यान्ड सातौँ स्थानमा छ । न्युजिल्यान्ड दुवै खेलमा पराजित भएको छ ।

पाकिस्तानको अवस्था भने झनै निरीह छ । तीन खेल सकेको पाकिस्तान तालिकामा सबैभन्दा तल छ । पाकिस्तानले हालसम्म एक खेल पनि जित्न सकेको छैन । त्यसैले पाकिस्तानको अगाडि बढ्ने सम्भावना निकै कम देखिन्छ ।

जारी विश्वकपमा सहभागी आठवटै टोलीलाई एउटै समूहमा राखिएको छ । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्ने प्रावधान छ ।

समूहगत चरणको खेल अक्टोबर २६ तारिखसम्म चल्नेछ । त्यसपछि अंक तालिकाको पहिलो र चौथो स्थानमा रहने टोलीबीच अक्टोबर २९ तारिखमा पहिलो सेमिफाइनल खेल खेलिने छ । अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच अक्टोबर ३० तारिखमा दोस्रो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने नोभेम्बर २ तारिखमा तारिखमा हुनेछ । सेमिफाइनल र फाइनल खेलको ‘भेन्यू’ निर्धारण गरिएको छैन । समूहगत चरणमा शुक्रबारको खेल बंगलादेश र न्युजिल्यान्डबीच खेलिने छ ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस