श्राद्धको परम्परा र महत्व

वैदिकसताननीहरुले शास्त्रमा उल्लेख भए अनुसार दिवङ्गत पितृले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्मलाई श्राद्ध भनिन्छ,। श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अथ्र्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । अर्थात् श्राद्ध भनेको पितृ यज्ञ हो ।

श्राद्धका विषयमा ऋग्वेद, शुक्ल यजुर्वेद (४०सौँ अध्याय), शतपथ ब्राह्मणको (१००औँ अध्याय) कात्यायन स्मृति, भविष्य पुराण, हेमाद्रिको श्राद्धखण्डमा ,विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण आदिमा वर्णन गरेको पाईन्छ । वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो ।

श्रद्धया क्रियते इति श्राद्धः । अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो ।

संस्कृतमा एउटा उक्ति रहेको छ — पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते । अर्थात् पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धा, सम्मान, विश्वासपूर्वक गरिने पवित्र कर्म हो भनिएको छ । श्राद्ध पद्धति कात्यायन पद्धतिलाई मान्नुपर्छ पनि भनिएको छ ।

अथर्ववेदमा त पितृहरू पृथ्वी, अन्तरिक्ष र द्युलोक निवास हुन्छ । त्यसो भएको हुनाले पितृको पहिलो पुस्ता (पिता–माता)लाई वसुस्वरूप भनेर सङ्कल्प गरिन्छ । त्यसैगरी दोस्रो पुस्ता (हजुरबा–हजुरआमा) लाई रूद्रस्वरूप र तेस्रो पुस्ता (बुढाहजुरबा–बुढीहजुरआमा) लाई आदित्यस्वरूप भनेर सङ्कल्प वा श्राद्धकर्म गरिन्छ । सन्ततिहरूले गरेको श्राद्धकर्मको फलबाट पितृहरूले दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरूलाई इच्छित फल प्रदान गर्दछन् भनिएको छ । हिन्दु शास्त्रमा मातापितालाई भगवानको स्थानमा राखेको पाईन्छ । मातापिताको सेवा गर्नु मानव कर्तव्य मानिएको छ ।
पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धापूर्वक गर्नुपर्ने विशेष कर्म भएकोले पनि भौतिक तथा पारलौकिक सफलताका प्राप्तिकालागि पितृहरूको उपासना गर्न वेदादि शास्त्रहरूले निर्देशन दिएका हुन् । यसकारण दुधआदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो ।

पितृकार्यमा शुद्धता र पवित्रतालाई लिएर धेरै नै चर्चा गरेको पाइन्छ । श्राद्धको अघिल्लो दिनलाई हविष्ये वा एकछाकी भन्ने चलन छ । यस दिन बिहान नित्यकर्ममा श्राद्धकर्ताले मुण्डन गर्ने, नुहाउने, जनै फेर्ने नङ काट्ने गरिन्छ । बुहारीहरूले पिनाले नुहाएर सरसफाइ गरेपछि श्राद्धको पूर्वाङ्ग सुरु भएको मानिन्छ ।

श्राद्धकर्ताको शरीर, धन, पत्नी, भूमि, मन, मन्त्र र ब्राह्मण यति सात कुरा शुद्ध हुनैपर्र्छ भनिएको छ । श्राद्ध गर्दा सबै वैदिक मन्त्रहरू प्रयोग गरिन्छ र प्रायः अपसव्य भएर नै कार्य गरिन्छ ।

श्राद्धको किसिम

विभिन्न समयमा गरिने श्राद्धहरूको संख्या कुल ९६ वटा छन् । सामान्यतः व्यवहारमा परिरहने श्राद्ध निम्न छन् ।
एकोद्दिष्ट श्राद्ध : पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्ध ।
एकपार्वण श्राद्ध : औँसीमा, पूर्णिमामा र पितृ पक्षमा मृत्यु भएका पितृको गरिने श्राद्ध ।
आभ्युदयिक श्राद्ध : विवाह वा व्रतबन्ध वा यस्तै मांगलिक कार्यभन्दा पहिला गरिने श्राद्ध ।
तीर्थ श्राद्ध : तीर्थ जानुभन्दा पहिला गरिने श्राद्ध ।
काम्य श्राद्ध : कुनै कार्य सिद्धि होस् भनेर गरिने श्राद्ध ।
प्रौष्टपदि श्राद्ध : शरीर स्वस्थ्य राख्न गरिने श्राद्ध ।
गुठी श्राद्ध : राजाहरू वा अन्य कसैले आफू वा आफ्ना पुर्खाहरूको श्राद्ध चलाउन गुठी राखेकामा गुठीयारले गरिने श्राद्ध ।
यात्रा श्राद्ध : तीर्थ जानुभन्दा पहिला घिउले आहुति दिएर गरिने श्राद्ध ।

पार्वण श्राद्ध वा सोह्र श्राद्ध, महालय श्राद्ध : आश्विन कृष्ण प्रतिपदादेखि सुरु गरी आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्धलाई पार्वण श्राद्ध या महालय श्राद्ध पनि भनिन्छ । चन्द्रमान अनुसार आश्विन कृष्ण प्रतिपदादेखि सुरु गरी आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिनसम्म गरिने हुनाले यसलाई सोह्र श्राद्ध भनिएको हो । औँसीपछिको आश्विन शुक्ल प्रतिपदा वा घटस्थापनाका दिन पनि मातामहहरूको श्राद्ध गरिन्छ । यसै भएर १६ दिन पुगेको हो । यो पक्षमा श्राद्ध गर्नाले वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता रहँदै आएको छ । पार्वणश्राद्ध चार प्रकारका हुन्छन् भनिएको छ । एक पार्वण, द्विपार्वण, त्रिपार्वण र चतुश्पार्वण ।

पितृपक्षमा शुद्ध शाकहारी भोजनमा गर्ने प्रचलन रहेको छ । यो सोह्र श्राद्धमा दुईवटा विश्वेदेवा ऋषि (घर र मामाघरका) र दुईवटा पितृ ऋषि (घर र मामाघरका) स्थापना गरिन्छ । यसमा पाँचवटा सिदा (दुईवटा सिदा दुई विश्वेदेवा ऋषिलाई, दुईवटा सिदा दुई पितृ ऋषिलाई र एकवटा सिदा भूस्वामीलाई) दान गरिन्छ

पार्वण श्राद्ध कुनै पनि कारणले रोकिएमा फुकेको भोलिपल्ट वा आश्विन शुक्ल पञ्चमी वा गाईतिहारे औँसी वा एकादशीमा गर्न सकिन्छ भन्ने पाइन्छ ।
यो महालय श्राद्ध सामान्य तरिकाले मरेका तीनपुस्ता भित्रका कुनै पनि पितृको तिथिमा गरिन्छ । हाल प्रायः गरेर बुवाको तिथिमा गर्ने चलन छ । त्यस्तो तिथिमा चतुर्दशी वा मघा परेमा त्यसको सट्टा द्वादशी, अष्टमी वा औँसीमा गर्नु भनेको पाइन्छ । महालय श्राद्ध अपराह्नबाट सुरु गर्नु भनेको पाइन्छ । यो समय हालको चलन चल्तीको समय अनुसार १२ बजेपछि सुरु गर्नुपर्छ । यसैगरी पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा आफ्ना घर आएका ब्राह्मणहरूलाई पितृहरूलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रियभोजन गराउनु पनि श्राद्ध नैं हो ।

श्राद्धमा पृथिवीका विविध वस्तुसँग मात्र नभई स्वर्गका देवता, पातालका नागदेवता पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मपर्यन्तं देवर्षि पितृमानवा अर्थात् ब्रह्मादेखि किरा फट्यांरासम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको सुन्तलाकारजस्तो डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राखेको पाइन्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । जसमा दूध, दही, घ्यू, मह र सक्खरसहित यसमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधिअनुसार कर्ताले औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, उल्लेख गरी पिण्ड वेदीको माथि थालीमा अर्पण गरिन्छ । पार्वण श्राद्धमा चार जना ब्राह्मण चाहिन्छ । तर चारैजना व्राम्हणहरु भेला गर्न नसकिने भएकाले ब्राह्मणको प्रतीकका रुपमा कुशको ब्राह्मण थापी काम चलाउने गरिएको छ । दुवै पट्टी दुई–दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राह्मण भनिन्छ । अन्य श्राद्धको विधि जस्तै सुरूमा देव (मनुष्य) दिव्यपितृ र स्वपितृलाई तर्पण दिइसकेपछि पार्वण श्राद्ध सुरू हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राह्मण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकरलाई छुट्टै दान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । सोह्रश्राद्धमा पितृतर्फ र मातृतर्फका गरी तीनतीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ । देवता र पितृप्रति श्रद्धापूर्वक नियमित भक्ति गर्नको लागि यो श्लोक पनि आफ्नो नित्यकर्ममा समावेश गर्नसक्नु हुनेछ ।
देवताभ्यः पितृभ्यश्च महायोगिभ्य एव च । नमः स्वधायै स्वाहायै नित्यमेव नमो नमः ।।

अर्थ –‘देवता, पितृ, महायोगी, स्वधा (पितृपत्नी) र स्वाहा(देवपत्नी) सहितको लागि मेरो सर्वदा नमस्कार छ । (अग्निपुराण : ११७.२२) श्राद्धको आरम्भ र अन्त्यमा यो मंत्र तीन पटक उच्चारण गर्नाले श्राद्ध गर्दा भएको त्रुटि क्षम्य हुन्छ । पितृ प्रसन्न भएमा आसुरी शक्तिको नाश भएर जानेछ । श्राद्ध केवल भौतिक वस्तु अर्पण मात्र नभई स्वर्गका देवता, पातालका नागदेवता र पितृलोकका आत्मासँग भावनात्मक सम्बन्ध गाँस्ने संस्कार हो । पिण्डदानद्वारा पितृको तृप्ति, सन्तानको कल्याण र कुलको उन्नति हुने विश्वास रहँदै आएको छ ।

यसरी हेर्दा, श्राद्ध पितृप्रति श्रद्धा, स्मरण र कृतज्ञताको प्रतीक हो । यो संस्कारले सन्तानलाई आफ्नो मूल, संस्कार र कर्तव्यबोधमा ल्याउछ जसले परिवार र समाज दुवैलाई आध्यात्मिक र सांस्कृतिक रूपमा सबल बनाउँछ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस