फिफा विश्वकप फुटबलको छनोट प्रतियोगितामा शुक्रबार ब्राजिलले चीलीलाई ३–० गोलको फराकिलो अन्तरले हराएको छ । ब्राजिल यसअघि नै आगामी विश्वकपका लागि छनोट भइसकेको छ । चिलीको भने विश्वकप खेल्ने सपना समाप्त भइसकेको छ ।
घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा ब्राजिलले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल शुरू भएको ३८औँ मिनेटमा घरेलु टोली ब्राजिलका लागि स्टेभाओ विलियनले पहिलो गोल गरेका थिए ।
यसैगरी, निर्धारित समयको ७२औँ मिनेटमा लुकास पाक्वेटाले ब्राजिलको अग्रता दोब्बर बनाएका थिए । त्यसको चार मिनेटपछि नै ब्रुनो गुइमारेसले टोलीका लागि तेस्रो गोल थपेका थिए ।
१७ खेलबाट २८ अंक बटुलेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । ब्राजिलले अब एक खेल खेल्न बाँकी छ । ब्राजिलले १७ मध्ये आठ खेलमा जीत, चार खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको छ ।
विश्व फुटबलको चर्चित टोलीमध्येको एक चिलीले भने आगामी विश्वकप खेल्न नपाउने भएको छ । छनोट प्रतियोगितामा चिलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । हालसम्म १७ खेल खेलेको चिली केवल १० अंकसहित तालिकामा सबैभन्दा तल छ ।
चिलीले १७ मध्ये केवल दुई खेलमा जीत, चार खेलमा बराबरी र ११ खेलमा हारको नतिजा निकालेको छ । जारी छनोट प्रतियोगितामा ब्राजिलले दोस्रो पटक चिलीलाई हराएको हो । यसअघि पहिलो भिडन्तमा पनि ब्राजिलले चिलीलाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको थियो ।
दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । त्यसमध्ये माथिल्लो ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान छ ।
यसैगरी, सातौँ र आठौँ स्थानमा रहने टोलीले भने विश्वकपमा छनोट हुन अन्तरमहादेशीय प्ले–अफ खेल्नु पर्नेछ । नवौँ र दशौँ स्थानमा रहने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ । सबै टोलीले अब एक–एक खेल खेल्न बाँकी छ ।
आगामी विश्वकप सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ ।


