काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य स्थायी नभएको बताएका छन् । उनले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई अस्थायी रूपमा मात्र निष्क्रिय बनाइने र सम्पर्कमा आएलगत्तै पुनः सुचारु गरिने जानकारी दिए ।
आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाललाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश र भदौ ९ गते मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यस्तो कदम चालेको हो ।
मन्त्री गुरुङले सरकारको तर्फबाट पटक(पटक सूचना जारी गर्दा पनि सम्बन्धित कम्पनीले बेवास्ता गरेकाले यस्तो बाध्यात्मक अवस्था आएको बताए । “सूचीकृत भइसकेका र प्रक्रियामा रहेका प्लेटफर्मलाई बन्द गरिएको छैन,” उहाँले भने ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म टिकटक, भाइबर, बिटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डाइरी सूचीकरण प्रक्रियामा रहेका छन् । उनका अनुसार नेपालमा करिब २५ ओटा सामाजिक सञ्जाल प्लेटफर्म सक्रिय रूपमा प्रयोगमा छन् तर बन्द हुनेको संख्या निश्चित छैन । “हजारौँ प्लेटफर्म बन्द हुन सक्छन्,” उनले भने ।


