सयपत्री फुल सामाजिक सञ्जालबाटै काठमाडौसम्म बिक्रि

बिजौरी । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले तिहारलाई लक्षित गरी व्यावसायिक सयपत्री फूलखेती गरेको छ । सहकारीले तुलसीपुर–१८ कै बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि संस्थाका कार्यसमिति सदस्य र कर्मचारी फूलको स्याहारसुसारमा व्यस्त छन् । एक हजार २०० सदस्य रहेको सहकारीले चाडपर्वलाई लक्षित गरी फूलखेती सुरु गरेको संस्थाका अध्यक्ष चित्रा धितालले बताइन् ।

‘अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ’ भन्दै उनले ‘हजारीको सिजन भएकाले यतातिर लागेका हौँ’ भनेकी छन्। उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो। सुरुमा बिउ, मल्चिङ तथा खेत जोताइलगायतका काममा करिब तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

तिहारलाई लक्षित गरी साउन २६ गते रोपिएको सयपत्री ४५ दिनमै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताएकी छन्। दसैँभन्दा अघि नै सयपत्री फुल्दा सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने चिन्ता उनलाई छ। ‘मैले तिहारलाई लक्षित गरेको थिएँ’ भन्दै उनले ‘दसैँमा फुलेकाले सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने लाग्छ’ भनेकी छन्।

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताएकी छन्। खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ।

दसैँ अगावै फुले पनि सामाजिक सञ्जालबाट प्रचार गरेर काठमाडौँसम्म फूल पठाइएको उनले बताएकी छन्। टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोजमै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ। विदेशबाट समेत फूलको माग आएको उनले जानकारी दिएकी छन्।

कृषि सहकारीमार्फत आम्दानीका थप अवसर सिर्जना गर्ने उद्देश्यले पाँच वर्षका लागि जग्गा भाडामा लिएर सयपत्री खेती सुरु गरिएको अध्यक्ष धितालले बताइन् । कट्ठाको वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिइएको हो । सयपत्री फूलको व्यावसायिक खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएकाले सहकारीले यसलाई आयआर्जनको माध्यमका रूपमा अघि बढाएको उनले बताइन् ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस