गोरखा मावि तुलसीपुरमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

तुलसीपुर। गोरखा माध्यमिक विद्यालय तुलसीपुरमा शतप्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन । सोमबार प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन र विज्ञान संकायमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण बनाउँदै विद्यालयले यस विद्यालयका अभिभावक र विद्यार्थीलाई गर्वित बनाएको छ ।

व्यवस्थापन संकायतर्फ १९९ र विज्ञान संकायतर्फ २६९ विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर नियमित नतिजालाई कायम राख्न सफल भएको भन्दै विद्यालयका प्रिन्सिपल विजयमान जिएमले यस वर्ष पनि सोही उपलब्धिलाई निरन्तरता दिँदै जिल्लाको शैक्षिक उत्कृष्टताको नेतृत्व कायम राखेको दाबी गरेका छन ।

व्यवस्थापन संकायका प्रमुख डम्बर डाँगीका अनुसार यो सफलता विद्यालयको योजनाबद्ध तयारी, शिक्षकहरूको परिश्रम र विद्यार्थीहरूको अथक मिहिनेतको परिणाम हो ।

नतिजाअनुसार ३.६१ देखि ३.८६ जीपीए ल्याउने विद्यार्थी २७ जना छन्, जसमा पुष्पा केसी ३.८६ जीपीएसहित शीर्ष स्थानमा रहेकी छिन् । त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने १४३ जना, २.८० देखि ३.२० ल्याउने २७ जना र २.७६ जीपीए ल्याउने २ जना विद्यार्थी रहेका छन् ।

त्यस्तै विज्ञान संकायतर्फ ३.६१ देखि ३.९२ जीपीए ल्याउने १०३ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने १५७ जना, २.८१ देखि ३.२० जीपीए ल्याएर ९ जना विद्यार्थी उत्तीर्ण भएको विज्ञान संकाय प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

यो नतिजाले विद्यालयलाई मात्र होइन, सम्पूर्ण तुलसीपुरलाई गर्वित बनाएको छ । विद्यालयले नियमित ट्युटोरियल कक्षा, शैक्षिक परामर्श, अतिरिक्त अभ्यास र विद्यार्थी–शिक्षकबीचको निरन्तर संवादलाई प्राथमिकतामा राख्दै आएको छ । यसले विद्यार्थीलाई लक्ष्य स्पष्ट पार्न र आत्मविश्वास बढाउन मद्दत गरेको व्यवस्थापन प्रमुख डाँगीको भनाइ छ ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुष्पा केसी भन्छिन्, “हाम्रो सफलतामा विद्यालयको वातावरण र शिक्षकहरूको मार्गदर्शन मुख्य कारण हो । हामीले मेहनत गर्‍यौँ र विद्यालयले सही बाटो देखायो ।”

अभिभावकहरू पनि विद्यालयप्रति कृतज्ञ छन् । गोरखा माविको यो सफलता जिल्लाका अन्य विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ । यसले तुलसीपुरलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउने आशा थप सशक्त बनाएको छ । विद्यालय प्रशासनले आगामी वर्षहरूमा अझ उन्नत शैक्षिक कार्यक्रम र व्यवस्थापन संकायलाई नमुना बनाउन लक्ष्य राखेको जनाएको छ ।

गोरखा माविको यो निरन्तर उत्कृष्टता केवल शैक्षिक नतिजामा सीमित छैन, यसले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा पनि सबल बनाएको छ । यही कारण, तुलसीपुरका अभिभावकहरू भोलिको पुस्ता यहींबाट उज्यालो भविष्य निर्माण गर्ने विश्वासका साथ गोरखा माविमा आशा राखिरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस