१३ वर्षपछि हुन लागेको महिला कबड्डी विश्वकप फेरि स्थगित

काठमाडौं । हैदराबादमा अगस्ट ३ देखि १० सम्म हुने भनिएको दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतियोगिता गाछीबाउली इनडोर स्टेडियममा हुने तयारी थियो।

१३ वर्षपछि दोस्रो संस्करण आयोजना हुन लागेको विश्वकप यसअघि जुन महिनामा बिहारमा आयोजना हुने तय भएको थियो तर त्यसबेला पनि स्थगित गरिएको थियो।

भारतीय अमेच्योर कबड्डी महासंघ (एकेएफआई)ले अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आईकेएफ) लाई पत्र लेख्दै टोलीहरूको प्रशासनिक विवरण समयमा नआएकाले आवश्यक सरकारी स्वीकृति लिन कठिन भएको र त्यसैले प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ।

पत्रको जवाफमा महासंघले स्थगित भएपनि सहभागी देशहरूको सूचीमा कुनै परिवर्तन स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ।

भारत, नेपाल, अर्जेन्टिना, बंगलादेश, चीन ताइपेइ, इरान, जापान, केन्या, थाइल्यान्ड, युगान्डा, जांजिबार, पोल्याण्ड, जर्मनी र नेदरल्याण्ड गरी १४ देश प्रतियोगितामा सहभागी हुने तय छ।

नेपाली टोलीले हाल भारतमै तयारी गरिरहेको छ। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले प्रो कबड्डी लिगपछि विश्वकप आयोजना हुने सम्भावना रहेको र नेपाली टोलीले एक महिना भारतमै प्रशिक्षण गरेर दशैंअघि फर्कने जानकारी दिएका छन्।

अब विश्वकप अक्टोबर महिनामा हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस