अब एमालेमा ओलीलाई ‘हाइसन्चो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतापछि अत्तालिएको एमालेमा तत्कालका लागि केही सन्तोषको बाटो फेला परेको छ ।

एमाले राजनीतिमा विद्याको आगमन आगामी नेतृत्वका लागि भनेर स्वयं उनले मुख खोलिसकेकी छन् । जसकारण एमाले आफ्नो विधान नै सच्याएर अध्यक्ष केपी शर्मा ओलीलाई नै अर्को महाधिवेशनका लागि तयार गर्ने बाटोमा लाग्यो ।

त्यो भनेको एमालेभित्रको ७० वर्षे उमेरको हद र दुई कार्यकाल मात्रको सीमा हटाउने ।

यसअघि चर्चामा मात्र रहेको दुवै काम बिहीबार बसेको एमाले सचिवालय बैठकले निर्णय नै गरेर वैधानिक बाटो खोलेको छ ।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन ) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको हो ।

उपाध्यक्ष पौडेलद्वारा प्रस्तुत भएको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिनेछ । यसैगरी बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ ।

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था थियो । यसको मतलब आगामी महाधिवेशनपछि ओली दुवै कारणबाट अयोग्य ठहरिने थिए । केही समय अघि मात्रै ओलीले एमालेको नेतृत्व फेरिन अझै २ दशक लाग्ने भन्दै त्यसअघि कोही दाबी गर्न नआउन चेतावनी दिएका थिए । तर एकाएक एमाले राजनीतिमा सक्रिय हुने भण्डारीको चाहना र घोषणापछि भने वैधानिक बाटो नै खोलेर आगामी एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने बाटो ओलीले खोलेका हुन् ।

यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।

राजनीतिमा विद्यादेवीको पुनरागमन र आउन सक्ने विग्रहलाई रोक्न ओलीले आफू पार्टी सत्ताको नेतृत्वमा रहिरहन चाहन्छन् । अब वैधानिक व्यवस्थाले समेत त्यसलाई सहज बनाइदिएको छ ।

त्यसो त उपाध्यक्ष पौडेलले पेस गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद नै हटाउने प्रावधान समेत राखिएको छ ।

त्यसमा केही नेताहरु असन्तुष्ट बनेपछि त्यसलाई छलफलको विषय बनाइने बताइएको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने भनेको अहिले रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हटाउने भन्ने हो ।

पोखरेल त्यस्ता नेता हुन्, जो ओलीसँग निकट रहेको मानिए पनि पछिल्लो समय भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन लागिपरेका छन् । जसकारण भण्डारीलाई साथ सहयोग गर्नेहरुलाई विधान नै संशोधन गरेर साइजमा राख्ने रणनीति ओली र एमालेमा देखिन्छ ।

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था थियो । यसको मतलब आगामी महाधिवेशनपछि ओली दुवै कारणबाट अयोग्य ठहरिने थिए । केही समय अघि मात्रै ओलीले एमालेको नेतृत्व फेरिन अझै २ दशक लाग्ने भन्दै त्यसअघि कोही दाबी गर्न नआउन चेतावनी दिएका थिए । तर एकाएक एमाले राजनीतिमा सक्रिय हुने भण्डारीको चाहना र घोषणापछि भने वैधानिक बाटो नै खोलेर आगामी एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने बाटो ओलीले खोलेका हुन् ।

त्यसो त बिहीबार बसेको एमाले सचिवालय बैठकमा मुख्य चर्चाको विषय भण्डारी नै बनेकी थिइन् । आगामी नेतृत्वकै लागि आफू राजनीतिमा सक्रिय भएको बताएकी भण्डारीमाथि छलफल गरेर विचार गर्न सकिने ओलीको भनाइ थियो । साथै अन्य नेताहरुले पनि थप गहन छलफल गरेर मात्रै भण्डारीलाई उचित स्थान दिन सकिने बताएका थिए ।

साथै ओलीले आफूले गहन छलफल र वार्ता गरेर पार्टीमा कुन पद सिर्जना गर्दा हुन्छ सोही अनुसार ल्याउने सचिवालय सदस्यहरुलाई जानकारी गराए । तर आफैँ नेतृत्व लिन कस्सिएकी भण्डारीले एमालेको निर्णय कुर्लिन कि आफ्नै गुट चलाउने तयारीमा लाग्छिन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस