रियललाई हराउँदै पीएसजी फिफा क्लब विश्वकपको फाइनलमा

काठमाडौं : पेरिस सैंट–जर्मेन (पीएसजी)ले रियल मड्रिडलाई पराजित गरेको छ। न्यू जर्सीको मेटलाइफ स्टेडियममा भएको सेमिफाइनल खेलमा रियल मड्रिडलाई पराजित गर्दै पीएसजीले आइतबार चेल्सीसँग हुने फिफा क्लब विश्वकपको फाइनलमा स्थान बनाएको हो।

च्याम्पियन्स लिग विजेता पीएसजीले स्पेनिस क्लब रियल मड्रिडमाथि खेलको २४ मिनेटमै एकतर्फी बनाएको थियो।

खेलको छैटौं मिनेटमा रियलका डिफेन्डर राउल एसेन्सियोको ठूलो गल्तीपछि फाबियान रुइजले पहिलो गोल गरेका थिए। यसअघि थिबाउ कोर्टुवाले उस्मान डेम्बेलेमाथि फाउल गरेका थिए। तर रेफ्रीले खेल रोकेनन्।

तीन मिनेटपछि फ्रेन्च विङ्गर डेम्बेलेले एन्तोनियो रुडिगरको मिस–किकपछि उत्कृष्ट फिनिस गर्दै दोस्रो गोल गरे।

त्यसपछि डेम्बेले र अक्राफ हाकिमीबीचको उत्कृष्ट ‘गिभ एण्ड गो’ पासिङको समाप्तिमा फाबियान रुइजले तेस्रो गोल गरे।

घाइते ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डबिना मैदानमा उत्रिएको रियल मड्रिडले कुनै प्रभाव देखाउन सकेन। खेलको अन्त्यमा गोनकालो रामोसले चौथो गोल थप्दै पीएसजीको प्रभुत्वपूर्ण जित सुनिश्चित गरे।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस