आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीहरू खोलिने

काठमाडौं : संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति,शिक्षा ,स्वास्थ्य तथा सूचना प्रविधि समिति,विद्यायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजेका लागि बोलाइएको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय,भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय,सबै सुरक्षा निकायका प्रमुख,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुने कार्यसूची छ।

यसैगरी दिउँसो १ बजे शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक २०८० माथि दफावार छलफल हुनेछ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति ९संयुक्त०को बै‌ठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने कार्यसूचीमा उल्लेख छ।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस