मनसुनमा दहीः ठीक कि बेठिक ?

काठमाडौं– मनसुन प्रारम्भ भएपछि धेरै मानिसहरूलाई घरमा तात्तातो परिकार बनाएर मन पर्छ । खासगरि अविरल वर्षा भैरहेको बेला प्रायः मानिसहरु पकौडा, समोसा, चिया खान रुचाउँछन् । यद्यपि, यो मौसमसँगै खानपान सम्बन्धी भ्रमहरू पनि धेरै फैलिन्छन् । जस्तै कि एउटा आम प्रश्न हुन्छ– के वर्षामा

दही खानु हुन्छ ?

वर्षायाममा दही खाँदा रुघा–खोकी, ज्वरो अथवा पेटको समस्या हुन सक्ने धेरैको धारणा हुन्छ । तर के यो धारणा वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि साँचो हो त ?
वर्षायामको मौसममा वातावरण बढी चिसो र ओसिलो हुन्छ। दहीको स्वभाव पनि चिसो हुने भएकाले धेरैले के विश्वास गर्छन् भने यो मौसममा दहीले शरीरलाई झन् चिसो बनाउँछ र यसले रुघा–खोकी निम्त्याउन सक्छ ।

वैज्ञानिक प्रमाणले के भन्छ ?

विज्ञानका अनुसार, वर्षामा दही खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने त्यस्तो कुनै ठोस प्रमाण छैन । बरु, दही एक उत्कृष्ट प्रोबायोटिक स्रोत हो, जसले पाचन प्रणालीलाई सुधार गर्छ भने रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ । विशेषगरी भाईरल संक्रमणको खतरा बढी हुने मनसुनमा बलियो प्रतिरक्षा प्रणाली आवश्यक हुन्छ, जसका लागि दही लाभदायक हुनसक्छ ।

तर सावधानी आवश्यक

यद्यपि, दही स्वास्थ्यवर्द्धक भए पनि, वर्षामा यसलाई सेवन गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ, जस्तैः
ताजा दही मात्र सेवन गर्नुपर्छ
बासी दहीमा हानिकारक ब्याक्टेरिया हुन सक्छ ।
सही तापक्रममा स्टोर गर्नु पर्छ
दही बिग्रिन नदिन फ्रिजमा राख्नु पर्छ ।

धेरै चिसो दहि नखाने

दहीलाई खानुभन्दा अगाडि कोठाको तापक्रममा ल्याएर वा हल्का तातो ठाउँमा राख्नु उपयुक्त हुन्छ ।
आयुर्वेद अनुसार, वर्षामा वात दोष बढ्ने भएकाले दहीले यो दोष झन् बढाउन सक्छ । यसको असर स्वरूप ग्यास, जोर्नी दुखाइ अथवा अपचजस्ता समस्या हुन सक्छ ।
तर आयुर्वेदिक सल्लाह अनुसार, पूर्ण रूपमा दही नखानु भन्ने होइन । थोरै मात्रामा दिउँसो समयमा दही सेवन गर्नु पर्छ । दही राति खानु हुँदैन, किनभने यसले कफ बढाउँछ ।
मसला हालेर खाँदा फाइदाजनक– जस्तै, भुटेको जीरा, कालो मरिच, अदुवा अथवा सिधो नुन मिसाएर दही सेवन गर्दा फाइदाजनक हुन्छ ।
यदि दहीले गडबड गर्छ भन्ने लाग्छ भने विकल्पको रूपमा मोही सेवन गर्न सकिन्छ ।
यदि तपाईँलाई दहीप्रति एलर्जी छैन र पाचन प्रणाली सवल छ भने, वर्षाको मौसममा पनि निडर भएर दही खान सक्नुहुन्छ । तर ताजापन, तापक्रम र मात्रा जस्ता कुरामा ध्यान दिनु आवश्यक छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस