काठमाडौँ : कुरा छर्लंगै छ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शमौ ओली पर्दैनन् । तर, तिनै ओलीको सरकारमा मिसिन नपाउँदा यतिखेर प्रचण्डलाई छटपटी भएको छ ।
ओली सरकार ढाल्न र कांग्रेस–एमाले सम्बन्ध बिगार्ने कुनै पनि प्रयास सफल नभएपछि प्रचण्ड ओलीकै सरकारमा मिसिएर त्यो उद्देश्य प्राप्ति गर्ने रणनीतिमा लागेका हुन् । त्यसैले उनी अहिले ओलीकै सरकारमा भए पनि एकाध मन्त्री आफ्नो पार्टीलाई दिलाउन लागिपरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको छानबिन अघि बढाएपछि विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए । सुरुमा रास्वपा र माओवादी एकै कित्तामा थिए । तर, माओवादीले बीचैमा रास्वपालाई धोका दियो । रास्वपा राजीनामाकै अडानमा बसिरह्यो भने माओवादीले सुटुक्क सत्तापक्षसँग सहमति जनायो ।
एउटासँग मिलेर शक्ति आर्जन गर्ने र उसैलाई धोका दिएर अर्को पक्षसँग सुटुक्क मिल्न जाने त प्रचण्डको पुरानै शैली हो । उनको राजनीतिक चरित्र नै यही हो । चुनावमा पनि कहिले एमालेसँग मिलेर केही सिट जित्ने र कांग्रेससँग सरकार बनाउने त कहिले कांग्रेससँग मिलेर चुनावमा हैसियत बनाउने अनि त्यही कांग्रेससँग बार्गेनिङ गर्ने सिलसिला धेरै चलिसकेको छ । अहिले भने कांग्रेस र एमालेको सहकार्य टुटाउन गरिएका अनेक प्रयास असफल भएपछि यही गठबन्धनमा मिसिन खेलखण्ड गरिरहेका छन् ।
रोचक पक्ष के छ भने प्रचण्ड अहिले पनि ओलीसँग संवादमा छैनन् । तर, कांग्रेससँग लेनदेन मिलाउन सके ओलीकै सरकारमा सामेल हुन सकिन्छ कि भनेर हर प्रयास गर्दै छन् । ओलीसँग इगो राखेर ओलीकै सरकारमा सामेल हुनेजस्तो केटाकेटी शैलीको राजनीतिमा ओर्लिन प्रचण्डलाई के कुराले बाध्य बनायो भन्ने आश्चर्यजनक छ ।
हुन त सत्ताभन्दा पर एक मिनेट पनि बस्न नसक्ने प्रचण्डका लागि गएको एक वर्ष कति छटपटाहटपूर्ण भएको छ भन्ने सर्वविदितै छ । उनले ओली सरकार ढल्योढल्यो भन्न थालेको पनि एक वर्ष नै भइसकेको छ ।
गत चैतमा दुर्गा प्रसाईको प्रदर्शनको तयारीलाई समेत उनले आफ्नो सत्तामा उक्लिने बहाना बनाउन खोजेका थिए । हुलाकी राजमार्गको पार्टी कार्यक्रम स्थगित गरेर उनी गणतन्त्र जोगाउनुपर्ने भएको भन्दै रातारात काठमाडौँ आएका थिए । तर, उनलाई न ओलीले गणतन्त्रको नायक माने, न त देउवाले नै । प्रचण्ड नभई नजोगिने गणतन्त्रको हालत भइसकेको छैन भन्दै उनीहरुले वास्ता नगरेपछि रन्थनिँदै फेरि अभियानमा फर्किएका थिए ।
अहिले रास्वपालाई प्रतिपक्षी कित्तामा एक्लो पारेर प्रचण्ड देउवाको बुइँ चढ्ने कोसिस गरिरहेका छन् । देउवाको बुइँ चढेर ओलीको हातबाट सत्ताको ललीपप हात पार्ने प्रचण्डको मनसुवाकै कारण विपक्षी कित्ता संसदमा कमजोर सावित भएको छ ।
देउवाको बुइँ चढेर सरकारमा सामेल हुन प्रचण्डले राष्ट्रिय सरकारको पासा फ्याँकेको बुझिँदै छ । अर्कोतिर बजेट पारित हुन नदिन राष्ट्रिय सभामा पुनः उपेन्द्र यादवको कार्ड कुनै शक्तिले खेल्न थालेको छ ।
यसबाट ओलीलाई दबाबमा राख्न सकिन्छ कि भन्ने ठानेर प्रचण्ड हौसिएका हुन सक्छन् । तर, उनले के बुझ्नुपर्छ भने यदि माओवादीले सत्तापक्षलाई मत दिने अवस्था आयो भने प्रचण्डभन्दा पहिला नै उपेन्द्र ओलीको खोकिलामा पुग्नेछन् । आफ्नो पार्टी फुटाइदिने पात्र प्रचण्ड नै हुन् भन्ने उपेन्द्रले एक वर्षमै कहाँ बिर्सेका छन् र ?


