विद्यालय सहयोगीदेखि हेडसरसम्म क्रिमलालको यात्रा, बुटनियमा नमुना विद्यालय बनाउँदै

शान्तिनगर । दंगीशरण गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, बुटनिय, पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयको सफल नमुनाको रूपमा चिनिन थालेको छ । बालविकास देखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल साढे चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उल्लेखनीय कुरा के छ भन–विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरी यही विद्यालयमा पढाउँदै आएका छन् ।

यसले विद्यालय प्रतिको आत्मविश्वास मात्र होइन, अभिभावकबीच पनि गहिरो विश्वास जगाउन मद्दत पुगेको छ । विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुको नेतृत्वमा यो रूपान्तरण सम्भव भएको हो । शान्तिनगर गाउँपालिका–५ स्थित बैशामा रहेको हात्तीखाल प्राविमा उनले विद्यालय सहयोगीको रूपमा मासिक एक हजार रुपैयाँमा सेवा सुरु गरेका थिए । त्यसै विद्यालयमा केही वर्ष निजी शिक्षकको रूपमा समेत काम गर–शुरुवातमा २५ सय तलबमा, पछि ८ हजार पुग्दा पनि तलब दिन नसक्ने अवस्था भएपछि पुनः विद्यालय सहयोगीको भूमिकामा फर्किनु प¥यो ।

जम्मा ९ वर्षसम्म सो विद्यालयमा निरन्तर सेवा गरेपछि शिक्षा सेवा आयोगबाट नाम निकाली २०७६ सालमा जनता मावि बुटनियमा स्थायी शिक्षकका रूपमा नियुक्त भए । “मासिक २८ हजार तलब पाउँदा जीवनमै नसोचेको खुसी महसुस गरें,” उनले भावुक हुँदै सुनाए । २०७६ मा विद्यालयमा आउँदा जम्मा ५३ जना विद्यार्थी मात्र थिए, भवनहरू जीर्ण थिए । तर हाल विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्म नेपाली र सामाजिक बाहेक अन्य विषयहरू अंग्रेजी माध्यमबाट पढाइ हुने गरेका छन् । शैक्षिक सुधारसँगै भौतिक पूर्वाधारको विकास पनि भएको छ । भवनहरू विस्तार भएका छन् र बालमैत्री कक्षाकोठाहरू तयार पारिएको छ । तर, अझै पनि प्रमुख चुनौती शिक्षकको अभाव हो ।

विद्यालयले कक्षा ८ र एसएलसी परीक्षामा गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयको रूपमा पहिचान बनाइसकेको छ । प्रधानाध्यापक थारु भन्छन्, “शिक्षकहरूले आफ्नै विद्यालयमा छोराछोरी पढाउनु भनेको विश्वासको प्रतिविम्ब हो ।”

एउटै कक्षामा ६० जनासम्म विद्यार्थी पढ्नुपर्ने बाध्यता छ । प्रधानाध्यापक थारुले गुनासो गरे, “विद्यार्थी भएको विद्यालयमा शिक्षक नपठाइने, तर विद्यार्थी नहुने ठाउँमा शिक्षकहरू घाम तापिरहेका छन् । शिक्षा शाखा र गाउँपालिकाको ध्यान जानु जरुरी छ ।” विद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्ने योजना बनाएको भए पनि आवश्यक जनशक्ति नहुनाले सम्भव भएको छैन । विद्यालयसँग छुट्टै आयस्रोत छैन र अन्यत्र जग्गा पनि छैन । दुईवटा मात्र शौचालय हुँदा स्वच्छता व्यवस्थापनमा समस्या हुने गरेको छ । अन्य विद्यालयहरू बिहान १० बजे सुरु हुने भए पनि जनता माविमा बिहान साढे ९ बजेबाटै पढाइ सुरु हुन्छ । विद्यालयले कक्षा ८ र एसएलसी परीक्षामा गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयको रूपमा पहिचान बनाइसकेको छ । प्रधानाध्यापक थारु भन्छन्, “शिक्षकहरूले आफ्नै विद्यालयमा छोराछोरी पढाउनु भनेको विश्वासको प्रतिविम्ब हो ।” अहिले अधिकांश शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति सदस्यहरूका बालबालिकाहरू यही विद्यालयमा अध्ययनरत छन् । जनता मावि बुटनिय आज सामुदायिक विद्यालय पनि गुणस्तरीय, प्रतिस्पर्धी र प्रभावकारी हुन सक्छ भन्ने प्रेरणादायी उदाहरण बन्दै गएको छ ।

विद्यालयका सबै शिक्षकले आफ्ना छोराछोरी पनि यहीँ भर्ना गरेका छन्, जसले अभिभावकको विश्वास जितेको छ । विद्यालयको शैक्षिक सुधारका लागि वार्षिक विदासमेत कटाएर कक्षा सञ्चालन हुने गरेको विद्यालयका पूर्व प्रधानाध्यापक प्रदिप कुमार देवकोटाले बताए । विद्यालयले भौतिक पक्षमा साथै शैक्षिक पक्षमा पनि फड्को मारेको उनले बताए ।

उनका अनुसार विद्यालयमा रहेका पुराना संरचनाहरू अहिले सबै हटाइएको छ । उनले भने, “कुनै समय यस विद्यालयले अभिभावकको विश्वास जित्न नसक्दा विद्यार्थी संख्या निकै कम हुन्थ्यो । म यस विद्यालयमा आइसकेपछि र तत्कालीन वडाका जनप्रतिनिधिहरूको साथ र सहयोगबाट विस्तारै विद्यालयको सुधार हुँदै गयो र अहिले यो अवस्थामा आएको हो ।” यस्तै, उनले “यस विद्यालयलाई नमुना बनाउनु पर्छ” भनेर नै सबै शिक्षक तथा कर्मचारीहरू लागि परेको समेत बताए ।

विगत १२ वर्षदेखि यसै विद्यालयमा पढाउँदै आएकी शिक्षिका पुजा चौधरीले पनि आफ्ना छोरालाई यहीँ अध्ययन गराउँदै आएको बताइन् । आफूहरूले यसरी आफ्ना छोराछोरी यस विद्यालयमा भर्ना गरेपछि अभिभावकले पनि विश्वास गर्न थालेको उनको भनाइ छ । उनले भनिन्, “मैले पैसा नभएर मेरा छोरालाई यस विद्यालयमा पढाएकी होइन, आफूले पढाउने विद्यालयमा आफैले विश्वास गर्नुपर्छ भनेर नै पढाएकी हुँ । अहिले छोरा कक्षा ८ मा पढ्दै छ, पढाइ पनि राम्रै रहेको छ ।” यस्तै, उनले आफूले आफ्ना छोरा आफैले पढाउने विद्यालयमा भर्ना गरेपछि छिमेकीहरूले पनि यसै विद्यालयमा भर्ना गरेको बताइन् ।

यस्तै, सल्यान घर भई विगत ४ वर्षदेखि यहाँ पढाउँदै आएका शिक्षक थलराज केसीले पनि निजी विद्यालयसरहको गुणस्तरीय शिक्षाका कारण आफ्ना छोरालाई यहीँ भर्ना गरी पढाउँदै आएको बताए । उनले भने, “सल्यानमा पनि धेरै सरकारी तथा निजी विद्यालयहरू छन् । तर, मैले आफू पढाउने विद्यालयमा आफ्ना छोराछोरी पढाउनु पर्छ भन्ने उद्देश्यले नै यहीँ विद्यालयमा भर्ना गरेको हुँ । एकातिर आफ्नो निगरानीमा हुने र अर्कोतर्फ अभिभावकहरूले पनि विश्वास गर्न सक्छन् । सरकारी विद्यालय पनि निजी भन्दा कम हुँदैनन् भन्ने उदाहरण बनाउने हो ।”

साभारः साक्षी खबर पत्रिका

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस