
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ।
इन्डियन प्रिमियर लिगले जारी गरेको तालिका अनुसार उद्घाटन खेल २२ मार्चमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच कोलकाताको ईडन गार्डेन्समा हुनेछ।
६५ दिनमा ७४ खेल, १२ डबल हेडर
यस सिजनमा कुल ७४ खेल हुनेछन्। जसमा १२ डबल हेडर (एकै दिन दुई खेल) समेटिएको छ। लिग चरणका ७० खेल १८ मेसम्म चल्नेछन्।
पहिलो डबल हेडर २३ मार्चमा हुनेछ। जहाँ दिउँसो ३:३० बजे सनराइजर्स हैदराबाद (एसआरएच) र राजस्थान रोयल्स (आरआर) भिड्नेछन्।
त्यसै दिन राति ७:३० बजे मुम्बई इन्डियन्स (एमआई) र चेन्नई सुपर किंग्स (सीएसके) आमनेसामने हुनेछन्।
अप्रिल महिनामा ५, ६, १२, १३, १९, २०, २७ तारिखमा एकै दिन दुई खेल हुनेछन् भने मे महिनामा ४, ११ र १८ तारिखमा डबल हेडर हुनेछ।
परम्पराअनुसार, डिफेन्डिङ च्याम्पियन टोलीको होम ग्राउन्डमा उद्घाटन र फाइनल खेल खेलाइने चलन यसपटक पनि कायम छ। २५ मेमा कोलकातामा फाइनल खेल हुनेछ। प्लेअफ खेलहरू कोलकाता र हैदराबादमा खेलाइनेछन्।
१० टोली, १३ मैदानमा प्रतिस्पर्धा
आइपिएल २०२४ मा १० टोली १३ वटा फरक मैदानमा खेल्नेछन्। प्रमुख खेल मैदानहरूमा अहमदाबाद, मुम्बई, चेन्नई, बेंगलुरु, लखनऊ, मुल्लांपुर (मोहाली), दिल्ली, जयपुर, कोलकाता र हैदराबाद रहेका छन्। साथै, गुवाहाटी, विशाखापट्टनम र धर्मशालामा पनि खेल खेलाइनेछ।
राजस्थान रोयल्स (आरआर) ले गुवाहाटीलाई दोस्रो होम ग्राउन्ड बनाएको छ। जहाँ उसले २ खेल खेल्नेछ। पंजाब किंग्स (पीबीकेएस) ले धर्मशालालाई दोस्रो मैदान बनाएको छ भने दिल्ली क्यापिटल्स (डीसी) ले विशाखापट्टनमलाई दोस्रो मैदानको रूपमा चयन गरेको छ।
आइपिएलको इतिहासमा चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स (एमआई) सबैभन्दा सफल टोली हुन्। दुवै टोलीले ५–५ पटक उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्स (केकेआर) ३ उपाधिसहित तेस्रो सफल टोली हो। पहिलो संस्करणमा राजस्थान रोयल्सले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो।