लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्य निर्धारण गर्न समिति बनाउने भएको छ । अनुमतिपत्र रद्द भइसकेकोले नियामकले स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण गर्न लागेको हो ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले समितिमा बस्नच इच्छुक चार्टर्ड अकाउन्टेडहरूलाई आफ्नो आशयपत्र आवेदन दिन आग्रह गरेको छ । यसका लागि सीएको डिग्री प्राप्त गरेको तथा कम्तीमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक सीएले अबको सात दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी आशयपत्र दर्ता गर्नुपर्ने छ । आवेदनमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (बायो–डेटा), शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभव पुष्टि गर्ने कागजात तथा स्मार्ट टेलिकमसँग कुनै संलग्नता नरहेको स्वघोषणा पत्र समावेश गर्नुपर्ने छ ।

नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनुपर्ने छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, जमल, काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस