
काठमाडौं । छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो । सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो ।
फागुन २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भयो । भारत पहिलो र इरान दोश्रो स्थानमा रहे । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए । टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउँदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।
प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।
खेलाडी
मानमति विष्ट, जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री । अफिसियलमा कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा हुन् भने नितु गुरुङले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।