बेलझुण्डी खानेपानीको साधारणसभा : ग्वारखोला हाइड्यामको डिपिआर यसै बर्षः पुर्व मुख्यमन्त्री पोख्रेल

तुलसीपुर । लुम्विनी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङमा पानीको सन्चिति बढाउने मुख्य विकल्प भनेको कृतिम जलाशय निर्माण रहेको बताएका छन् । पछिल्लो समयमा दाङ जिल्लाभरी करीव ५० वटा कृतिम जलासय निर्माण भैसक्दा यसले पानीको ठुलो समस्या टरेको पनि उनले बताए । वेलझुण्डि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दशौं साधारणसभा तथा छैठौ अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले कृतिम जलासय निर्माणलाइ स्थानिय सरकारहरुले प्रार्थमिकतामा राख्नुपर्ने पनि सुझाव दिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले वेलझुण्डि खानेपानीका उपभोक्ताहरुले ग्वारखोलाको मुलको पानी पाएकोमा समितिका पदाधिकारी र सहलगानी आयोजनालाइ पनि धन्यवाद दिए । ‘ग्वारखोलाको पानी पिउने पानीमा उपभोग भैरहदा खेतीयोग्य जमिन बाझै रहने प्रसंगको खण्डन गर्दै प्रमुख अतिथि पोख्रेलले सिचाइ भन्दा पनि पहिलो आवस्यकता पिउने पानी रहेको बताए । त्यसैगरी उनले ग्वारखोला हाइड्यामको प्रक्रियालाइ सरकारले अघि बढाएको पनि दोहो¥याए । ‘यहि बर्ष ग्वारखोला हाइड्यामको डिपिआर तयार हुन्छ, त्यसपछि हामी प्रक्रियामै प्रवेश गर्ने छौं’, पोख्रेलले भने । ग्वारखोलामा हाइड्याम निर्माण हुन सके यसले सिचाइ, पिउने पानी तथा लघु जलविद्युत उत्पादन समेत हुन सक्ने बताए । तर सरकार पछिल्ला केहि बर्षयता श्रोतको अभावकाट गुज्रिरहेकाले सवै परीकल्पनाहरु एकै पटक पुरा हुन नसकेको पनि अभिव्यक्ति दिए ।

खानेपानीलाइ संविधानले मौलिक हकका रुपमा स्थापित गरेको, सरकारले एक घर एकधाराको रणनिति लिएको अवस्थामा पनि उपभोक्ताहरुले पानीमा शुल्क बुझाउनुपर्ने बाध्यता रहेको भन्दै प्रमुख अतिथि पोख्रेलले पानीलाइ निशुल्क गराउन सरकारले एउटा वहश सुरु गरीसकेको पनि बताए । ‘कम्तिमा न्युनतम पानी खपत गर्ने उपभोक्तालाइ निशुल्क उपलव्ध गराउन सकिन्छ कि भनेर सरकारमा वहश सुरु भैसकेको पनि छ’, संस्थापक मुख्यमन्त्री पोख्रेलले भने ।

साथै उनले खानेपानी उपभोक्ता संस्थाहरुलाइ सरकारले लगाउदै आएको मुल्य अभिवृद्धि कर हटाउन पनि आफुले पहल गर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि तथा खानेपानी महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले नेपालको संविधान २०७२ ले खानेपानीलाइ मौलिक हकका रुपमा राखेको तर सरकारले भने यसमा भ्याट लगाउन समेत पछि नपरेको बताए । सहलगानी आयोजनालाइ पनि उनले संविधानको मौलिक हक विपरीतको रणनिति बताए । ‘सरकारले अरबौं रुपैयाको लगानीमा सडक निर्माण गरेको छ, त्यसमा जनताले लगानी गर्नुपरेको छैन, स्वास्थ्य र शिक्षामा त्यत्तिकै लगानी गरेको छ, त्यसमा पनि जनताले पैसा उठाउनु परेको छैन, तर खानेपानी आयोजनामा जनताले तीस प्रतिसत रकम उठाउनुपर्ने’ अध्यक्ष वलीले भने । साथै अव खानेपानीको सन्चिति बढाउन मुहान क्षेत्रमा निकुन्ज घोषणाको अभियान सरकारले ल्याउनुपर्ने पनि उनको सुझाव रहेको थियो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर घनश्याम पाण्डेले वेलझुण्डि खानेपानीको सहलगानी आयोजना पुरा गर्नकालागी स्थानिय सरकारले प्रसस्तै सहयोग गरेको बताए । ‘त्यो वेला तुलसीपुर उपमहानगरपालिका जमानि नबसिदिएको भए सायद यो आयोजना फिर्ता हुने थियो’, पाण्डे्ले भने ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, रोल्पाको रुण्टिगढि गाउपालिकाका अध्यक्ष जनक पुन, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, त्रिसिदेश्वरी यायातायत प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, नेपाली कांग्रेसका प्रतिनिधि पदम वली, एमालेका कमानसिं खड्का, रास्वपाका शिवराज केसी, नेकपाका रुद्र सि, माओवादी केन्द्रका गिरीराज नेपाली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा वेलझुण्डि खानेपानी सहलगानी आयोजनालाइ मुल उपलव्ध गराउने रोल्पा रुम्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनलाइ सम्मान गरिएको थियो । रोल्पा जिल्लाको रुम्टिगढि गाउपालिका गार्पाबाट पानी ल्याउन सहमती प्रदान गरेपछि मात्रै वेलझुण्डि खानेपानी सहलगानी आयोजना सम्भव भएको हो । सहलगानी आयोजना निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्दा कम्तिमा ३२ करोड रुपैया खर्च भएको थियो । यसमा करीव दश करोड रुपैया उपभोक्ताहरुले उठाउनु पर्ने छ । यसैबीच वेलझुण्डि खानेपानी सहलगानी आयोजना संस्थालाइ हस्तान्तरण गरिएको छ । खानेपानी तथा ढल निकाश विभाग सहलगानी आयोजना नेपालगन्जका इन्जिनियरले वेलझुढिड खानेपानीका अध्यक्ष प्रदिप गौतमलाइ आयोजना हस्तान्तरणको प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्जिनियर विक्रमवावु केसीले गरेका थिए । संस्थाका सदस्य देवा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष गौतमले संस्थाको बार्षिक प्रतिवेदन संगै सहलगानी आयोजनाका विभिन्न चरणहरुका विषयमा जानकारी गराएका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्त थापाले प्रस्तुत गरेका थिए । साथै अधिवेशन आगामि १० गते हुदैछ । अधिवेशनले आगामि कार्यकालकालागी नयां नेतृत्व चयन गर्ने गरी निर्वाचन समिति समेत गठन भैसकेको पनि साधारणसभामा जनाइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस