पूजाको अर्धशतकका बाबजुद नेपालको लज्जास्पद हार

काठमाडौं । युवा ब्याटर पूजा महतोको अर्धशतकका बाबजुद नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टोलीले नेपालले नेदरल्यान्ड्सविरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कालिसले सर्वाधिक ९८ रन बनाइन् । शतक बनाउन दुई रनले चुकेकी उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन् ।

यस्तै, अर्की ओपनर फेबे मोल्केनबोर ४८ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

नेपालकी युवा ब्याटर पूजा महतोले अविजित ६२ रन बनाएकी थिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गरिन् ।

यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन थपे ।

नेदरल्यान्ड्सकी एरिस ज्विलिङले दुई विकेट लिइन् । यस्तै, क्यारोलिन डे लिंगे र हिथर सिगेर्सले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार पाँचौँ हार हो । तालिकाका पुछारमा रहेको नेपाल अंकविहीन छ । यस्तै, प्रतियोगितामा तेस्रो जित निकालेको नेदरल्यान्ड्स भने तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले अब शुक्रबार अन्तिम खेलमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस