पशुहरुमा कृतिम गर्भाधान, किसानहरुलाई सेवा लिनै सकस

विजौरी । तुलसीपुर उपमहानगरपालिका–१८ का व्यवसायीक पशुपालक किसान नरवहादुर खत्री ढकालले उन्नतजातका गाइ र भैसी गरी करीव आधादर्जन पशुचौपाया पालेका छन् । ती पशुचौपायालाइ गर्भाधान गराउन उनले प्रति पशुचौपाया एक हजार रुपैया तिर्नुपर्छ । पैसा मात्र होइन पशुचौपायालाइ कृतिम गर्भाधान गराउनकालागी उपयुक्त समयमा कृतिम गर्भाधान गराउने प्राविधिक ल्याउनै पनि समस्या पर्ने गरेको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ स्थीत लक्ष्मी सेवा पशुपालन एग्रो फर्मका सन्चालक डम्वर डांगिले पनि करीव दुइ दर्जन जति गाइभैसी दुधकालागी व्यवसायीक रुपमा पालन गर्दै आएका छन् । आवस्यक परेकावेला ती पशुचौपायालाई प्राकृतिक गर्भाधान गराउने रांगा र वहर उनको फर्ममा छैनन् । उनले पनि पछिल्लो एक दशक यता पशुप्राविधिक मार्फत प्रति चौपाया एक हजार रुपैया तिरेर कृतिम गर्भाधान गराउदै आएका छन् । ‘पैसा खर्च त हुन्छ नै, आवस्यक परेको उपयुक्त समयमा कृतिम गर्भादान गराउने पशु प्राविधिक पाउनै मुस्किल पर्छ, समय गुज्रिए गर्भै नबस्ने जोखिम रहन्छ’, डांगीले भने । स्थानिय सरकारले समयमा कृतिम गर्भादान गराउने विर्य सहित पशु प्राविधिकको व्यावस्थापन गर्न नसक्दा आफु जस्ता सयौं व्यवसायीक किसानहरुलाइ समस्या परीरहेको पनि डांगिको भनाइ छ ।

यस्तै समस्या तुलसीपुर उपमहानगरपालिका–१२ टरीगैका व्यवसायीक पशुपालक किसान कुल वहादुर भण्डारीलाई पनि छ । व्यावसायीक रुपमा करीव एक दर्जन भन्दा बढि जर्सि गाइपाल्दै आएका उनलाई पनि कृतिम गर्भाधान गराउन सधै सकस हुने गरेको छ । वडास्तरमै कृतिम गर्भाधानको सेवाकालागी स्थानिय सरकारले प्राविधिक र निशुल्क रुपमा कृतिम गर्भाधान गराउने विर्यको व्यवस्थापन गर्न सके आफुजस्ता धेरै किसानलाइ राहत हुने पनि भण्डारीको भनाइ छ । तर तुलसीपुर उपमहानगरपालिका लगायत जिल्लाका आठ वटा स्थानिय पालिकाले कृतिम गर्भाधानको सेवालाइ स्थानिय सरकारको अपनत्वका रुपमा ग्रहण गर्न सकेका छैनन् । यद्धपि लमही नगरपालिका र राप्ती गाउपालिकाले भने यस्तो सेवा निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ । ‘बर्षमा दुइ तिन लाख रुपैया मात्रै व्यवस्थापन गर्न सकेमा पनि यो सेवा निशुल्क उपलव्ध गराउन सहज हुने रहेछ’, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भने ।

तर यति थोरै बजेटमा व्यवस्थापन गर्न सकिने कृतिम गर्भाधानको सेवालाइ भने तुलसीपुर उपमहानगरपालिकाले निशुल्क रुपमा कार्यान्वयनमा ल्याउन सकेको छैन । यसले पशुपालक किसानहरु खिन्न भएका छन् । स्थानिय सरकारसंग यो विषयमा पटक पटक ध्यानाकर्षण गराउदा पनि यसको व्यवस्थापन हुन नसकेको ति किसानहरुको गुनासो छ । हरेक स्थानिय पालिकामा कृषि तथा पशु महाशाखाहरु छन् । तर ती शाखाहरुले किसानलाइ कृषिऔजार र अनुदानको विउ उपलव्ध गराउने वाहेक किसानमैत्री कुनैपनि कार्यक्रम सन्चालनमा ल्याउन सकेका छैनन । यहि कारण घोराही देखि तुलसीपुर क्षेत्रसम्म कृतिम गर्भाधान गराउन सक्षम एक जना प्राविधिक प्रेम घर्ति मार्फतनै यहांका किसानहरुले कृतिम गर्भाधानको सेवा लिइरहेका छन् । यसले प्राविधिकले पनि जोखिम मोलेर काम गर्न बाध्य छन् । ‘जुनवेला पशुचौपायालाइ कृतिम गर्भाधान गराउनु पर्ने हुन्छ, त्यो वेला रातदिन नभनी किसानको घरमा पुग्नु पर्ने बाध्यता रहेको छ, यसले पेषागत सुरक्षामा गम्भीर चुनौति पनि छ’, कृतिम गर्भाधान गराउदै आएका पशु प्राविधिक प्रेम घर्तिले भने । सरकारले आफु जस्ता निजि क्षेत्रका पशुप्राविधिकलाई विमाको व्यवस्था गरिदिए राम्रो हुने पनि घर्तिको सुझाव छ ।

तुलसीपुर उपमहानगरपालिकाले कृतिम गर्भाधानको सेवालाइ तलसीपुर उपमहानगरपालिकाले कसरी सन्चालन गरीरहेको छ त? यो विषयमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख डा मनोज वलीले श्रोतको अभावका कारण कृतिम गर्भादानको सेवालाई उपमहानगरपालिकाले निशुल्क गर्न नसकेको बताए । अहिले कृषिलाई आधुनिकिकरण एवं यान्त्रिकरण गरिएसंगै रांगा वहरहरु समेत हराउदै गएकाले अधिकांश व्यवसायीक पशुपालक किसानलाइ यसको विकल्पका रुपमा कृतिम गर्भाधाननै गराउनु परेको छ । तर उपमहानगरपालिकाले बजेटको अभाव देखाउदै कार्यक्रमनै नल्याउनुले कृषि क्षेत्रको समुन्नतीमा उपमहानगरपालिका गम्भीर हुन नसकेको देखिएको कृषि अर्थविज्ञ पृथ्वीराज लामीछाने बताउछन् ।

संविधानले शिक्षा, स्वास्थ्य, पशु तथा कृषिलाई स्थानिय सरकारको अधिकारका रुपमा स्थापित गरेको छ । तर पालिकाहरुले प्राथमिकताका आधारमा बजेट निर्माण गर्ने अभ्यास नदेखिएको पनि विज्ञहरुले बताएका छन् । उता तुलसीपुर उपमहानगरपालिकाका कृषि तथा पशु शाखाका प्रमुख मनोज वलीले भने कृतिम गर्भाधानलाई निशुल्क गर्न नसकिएपनि वाहिरबाट कृतिम गर्भाधानकालागी लिक्युड नाइट्रोजन र विर्य ल्याएर पालिकाको कृषि शाखा मार्फत निजि क्षेत्रका कृतिम गर्भाधान गराउने पशु प्राविधिकलाइ उपलव्ध गराउदै आएको बताए । कृतिम गर्भाधान गराउने नाइट्रोजन र विर्यको मुल्य प्रति भाइल २५ रुपैया मात्र हो । यसलाइ किसानसम्म पहुच पु¥याउन पशु प्राविधिकले सक्छन् । तर यति सानो बजेटलाइ समेत उपमहानगरपालिकाले सम्वोधन गर्न सकेको छैन ।

संघिय सरकारले कृतिम गर्भाधान मार्फत नश्ल सुधार गरी दुध उत्पादनमा बृद्धि गर्न विभिन्न क्षेत्रगत रुपमा पशु प्रजनन केन्द्र सन्चालनमा ल्याएर कृतिम गर्भाधानकालागी विर्य उत्पादनको काम समेत सुरु गरेको छ । पोखरामा रहेको पशु प्रजनन केन्द्रमा उत्पादन गरिएको उन्नत जातका गाइ, भैसी र बाख्रा समेतको विर्य नेपालगन्जको खजुरास्थीत पशु प्रजनन केन्द्रमा ल्याएर स्टोर गरिन्छ । त्यहांबाट संबन्धित क्षेत्रका स्थानिय पालिका तथा जिल्लास्तरीय पशु विज्ञ कार्यालय तथा भेटनरी अस्पतालहरुले निजि क्षेत्रका कृतिम गर्भाधान गराउने पशु प्राविधिकलाइ दिने गरेका छन् । उनै निजि क्षेत्रका पशु प्राविधिक मार्फत मात्र व्यवसायीक किसानहरुले कृतिम गर्भाधानको सेवा लिने गरेका छन् ।

साभारःः साक्षी खबर

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस