
काठमाडौं : कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा हदैसम्मको कारवाही भोग्नुपर्नेछ। सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सजाय र कारवाहीको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अनुसार कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा तीन वर्षसम्मको कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ।
‘ह्याक’ भन्नाले कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्याक गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत पासवर्ड वा सिरियल नम्बर चोरी गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालमा अनधिकृत रुपमा पहुँच प्राप्त गरी तथ्याङ्क भण्डारमा हस्तक्षेप गर्ने कार्य सम्झनुपर्छ।
यसैगरी फिसिङ वा इम्पोष्टर स्क्याम गर्नेले पनि अब छुट पाउने छैनन्। यस्तो कसूर गरेमा तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
‘फिसिङ’ भन्नाले विद्युतीय सञ्चार माध्यमबाट कुनै कुरा सत्य हो भन्ने विश्वासमा पारी कुनै व्यक्तिको युजरनेम र पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैङ्क एकाउन्ट जस्ता संवेदनशील सूचना प्राप्त गर्ने कार्य सम्झनु पर्छ। (ख) ‘इम्पोष्टर स्क्याम’ भन्नाले कुनै व्यक्तिले अरू कसैबाट पैसा वा व्यक्तिगत विवरण चोर्ने उद्देश्यले फोन वा इमेल वा विद्युतीय उपकरण वा प्रणालीद्वारा आफू चिनजान भएको वा विश्वास गर्न योग्य व्यक्ति भएको भन्ने विश्वासमा पारी उपहार वा पुरस्कार पठाउन व्यक्तिगत पासवर्ड र संवेदनशील जानकारी लिएर पछि कुनै रकम माग गर्ने कार्य सम्झनुपर्छ।