प्रचण्डले गरे धनरुपा स्मृति पार्कको उद्‌घाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्मित शहीद धनरुपा स्मृति पार्कको उद्‌घाटन गरेका छन् ।​

लालीगुराँस नगरपालिका–७ र ९ को सङ्गमस्थलमा रहेको लसुने बजारमा निर्माण गरिएको पार्कको सोमबार उद्‌घाटन गर्दै प्रचण्डले भने, ‘मुलुकको प्रगति र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने शहीदहरू अमर हुन्छन्, समाजको उत्थानको निम्ति, जनताको हकअधिकारको निम्ति बलिदान दिने सहिदहरु कुनै पार्टी विशेषको मात्र नभइ आम जनताका सम्मानका पात्र हुनुहुन्छ ।’

दश वर्षसम्म नेपाली आमाबाबुका सन्तानले युद्ध लडेको र बलिदान दिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व गर्ने आफूले अवसर पाएको बताए ।​

धनरुपा स्मृति प्रतिष्ठानले आयोजना गरेको पार्क उद्‌घाटन कार्यक्रममा तत्कालीन समयमा माओवादीले गरेको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका तेह्रथुम र धनकुटाका २४ शहीद परिवारलाई अभिनन्दन गरिएको थियो ।

पार्कमा लालीगुराँस नगरपालिकाका छ जनाको अर्धकदको शालिक निर्माण गरिएको प्रष्ठिानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरले बताए ।

पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरिएका छन् ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु तीन करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताए ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस