महिला यू– १९ विश्वकपमा नेपालः ब्याटिङमा आत्मविश्वास कमी, कप्तान पूजामा अत्यधिक निर्भरता

काठमाडौं । मलेसियामा जारी यू– १९ महिला विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । पहिलोपटक यू– १९ महिला विश्वकपमा सहभागिता जनाएको नेपालले उल्लेखनीय प्रदर्शन गर्न सकेन ।

तीन खेलमा सतप्रतिशत हार व्यहोर्दै नेपाल बाहिरिएको छ । नेपालले समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग हार व्यहोरेको हो । स्कटल्यान्डसँग जित नजिक पगेर पनि चुकेको नेपालले टेस्ट राष्ट्रहरु बंगलादेश र अष्ट्रेलियालाई भने कडा चुनौति पेश गर्न सकेन ।

प्रतियोगितामा कुनै पनि अंक जोड्न नसकेको नेपाल अंक तालिकाको पुछारमा रह्यो ।

नेपालले पहिलो म्याचमा बंगलादेशसँग खेलेको थियो । सो म्याचमा नेपाल खराब ‘रनिङ बिटविन द विकेट’को शिकार भयो । नेपालका ५ जना ब्याटरहरु रनआउट भएका थिए । कप्तान पूजा महतोसहित सिमाना केसी, एलिसा यादव, अनु कडायत र रचना चौधरी रनआउट भएपछि नेपाल ५२ रनमै प्याक भयो ।

यदि रनआउटबाट जोगिएर १०० रनसम्म जोड्न सकेको भए बंगलादेशलाई भारी पर्न सक्थ्यो । झिनो लक्ष्य दिएर पनि नेपालले बंगलादेशको ५ विकेट लिन सफल भएको थियो । ११ रनमा तीन विकेट गुमाएको बंगलादेशले त्यसपछि सम्हालिएर खेल्दै १३.२ ओभरमा लक्ष्य भेट्यो ।

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले कडा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन । यो म्याचमा पनि नेपालको ब्याटिङ फ्लप भयो । टस जितेर ब्याटिङ रोजेको नेपाल ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजाले सर्वाधिक २७ रन बनाइन् भने ओपनर सावित्री धामीले १० रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपाललाई १४ अतिरिक्त रन प्राप्त भएको थियो ।

नेपालले बलिङ भने राम्रो गर्यो । स्कटल्यान्डले ५८ रनमा ९ विकेट गुमाउँदा नेपाल जित नजिक देखिन्थ्यो । तर, अन्तिम विकेट लिन नसक्दा नेपाल जितबाट वञ्चित बन्यो । स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य भेट्यो ।

अन्तिम म्याचमा बलियो अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान पुजाले दुई ओभरमै तीन विकेट ढालेर अष्ट्रेलियालाई अत्याइदिएकी थिइन् । तर, १४ रनमा तीन विकेटको स्थितिबाट शानदार कमब्याक गर्दै अष्ट्रलेलियाले १४० रनको सुदृढ स्कोर खडा गर्न सफल भयो ।

१४१ रनको लक्ष्य नेपालका लागि भारी थियो । नेपालले यो लक्ष्य पछ्याउने चेष्टा नै गरेन । सुरुबाटै ब्याटरहरुले जित निकाल्ने भन्दा पनि २० ओभर टिक्ने उद्देश्य राखेर खेलेका थिए । कप्तान पुजामाथि नेपालको आश थियो । उनी विकेटमा टिकेकी पनि थिइन् ।

तर, कुनै आक्रामकता देखाउन सकिनन् । ४२ बलको सामना गर्दा १८ रन मात्रै जोड्न सकिन् । उनको ब्याटबाट एउटा पनि बाउन्ड्री निस्केन । नतिजाका हिसाबले नेपालको यात्रा निराशाजनक रह्यो, यद्यपि केही सकारात्मक पक्षहरु नभएका होइनन् । नेपालको बलिङले पक्कै पनि प्रभावित बनाएको छ । तीन वटै टिमलाई नेपालका बलरहरुले दवावमा राख्न सफल भएका थिए । तर, उनीहरुको क्षमता र अनुभवका अगाडि नेपालको जोर चलेन ।

ब्याटिङमा भने नेपाल कमजोर सावित भयो । ब्याटरहरुले उच्चकोटीको बलिङ सामना गर्ने कुनै आत्मविश्वास र कौशल देखाउन सकेनन् । उनीहरुको ब्याटिङ शैली हेर्दा लाग्थ्यो कि केवल अनुभवका लागि खेलिरहेका छन् ।

नेपालको यू– १९ महिला टिम कप्तान पुजा महतोमा अत्यधिक निर्भर छ । त्यो निर्भरता विश्वकपमा पनि देखियो । पूजाले प्रयास नगरेकी होइनन् । उनले बलिङ र ब्याटिङ दुवैमा मिहिनेत गरिन् । तर, यो स्तरमा आइपुग्दा एउटा खेलाडीको बलमा नतिजा निस्किन सक्थेन । पूजाले क्रिजमा अन्य ब्याटरबाट गतिलो साथ पाइनन् । उनी स्वयम्ले पनि आत्मविश्वासी भएर ब्याटिङ गर्न सकिनन् ।

नेपालको अर्को ठूलो कमजोरी भनेको रनिङ टिविन द विकेट देखिएको छ । बंगलादेशविरुद्ध ५ जना ब्याटरहरु रनआउट हुँदा नेपाल राम्रो स्कोरतर्फ अघि बढ्न सकेन । यसअघिका खेलहरुमा पनि नेपाली चेलीको रनिङ विटविन द विकेट दयनीय देखिँदै आएको छ । यो कमजोरी तत्काल सुधार्न नेपालले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

व्यक्तिगत प्रदर्शनको कुरा नेपालका ब्याटरहरुको ब्याटिङ आँकडा टिठलाग्दो छ । कप्तान पूजा महतोले तीन खेलमा सर्वाधिक ४७ रन जोडिन् । दोस्रोमा साना प्रवीनले २८ रन बनाइन् । अरु ब्याटरहरुले २० रन पनि कटाएनन् ।

नेपालका लागि सर्वाधिक विकेट पनि पूजाले नै लिइन् । उनले ३ खेलमा ५ विकेट लिएकी थिइन् । सिमाना केसीले पनि समान ५ विकेट लिएकी छन् । कप्तान पूजा प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउनेको सूचीमा १६ औं र सर्वाधिक विकेटटेकरको सूचीमा १३ औं स्थानमा रहेकी छन् ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस