काठमाडौं । सत्ता साझेदार दल भएपनि स्थानीय तह उपनिर्वाचनमा कांग्रेस र एमाले एक्लाएक्लै लडे । उपनिर्वाचनको जारी मतगणनाअनुसार एमालेले भन्दा कांग्रेसले वडाध्यक्षतर्फ दोब्बर भन्दा बढी स्थानमा जित हासिल गरेको छ ।
हालसम्म कांग्रेसले १२ वटा अध्यक्ष पदमा विजय हासिल गर्दा एमालेले ५ स्थानमा मात्रै जित हासिल गरेको छ ।
निर्वाचन आयोगको सोमबार बिहान ५ बजेको अद्यावधिक विवरणअनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।
यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भूपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित हुँदा सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएका छन् ।
यसैगरी एमालेबाट शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान विजयी भएका छन् । यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ । मतगणना जारी छ ।