विजौरीको आरोग्य शालामा बढ्दै नागरिक विश्वास

विजौरी । तुलसीपुर–१८ शिवालयका शुनिल कुमार पोख्रेल एका विहानै झिसमिसेमा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी पुग्छन् । गेट प्रवेश गर्ने वित्तिकै एउटा नागरीक व्यायमशाला छ । चिकित्सालयले त्यसलाइ नागरीक आरोग्य केन्द्र भनेको छ । त्यसैमा उनले शारीरिक अभ्यास सुरु गर्छन् । कहिले यसमा, कहिले उसमा गरी विभिन्न ६ स्थानमा अभ्यास गर्दा उनको शरीर पुरै पशिनाले भिजेको हुन्छ ।

‘बल्ल हल्का अनुभुति भयो, अनि स्फुर्ति महशुस भयो’, एका विहानै नागरीक आरोग्य केन्द्रमा विशाइरहेका शुनिलले भने । अचेल नागरीक आरोग्य केन्द्रमा दैनिक अभ्यास गर्ने उनको आदत बसेको छ । यसले उनको मोटोपना घटि तौलमा पनि कमि आएको छ । हातगोडाहरु पनि सहज रुपमा चलायमान हुने भएका छन् । ढाडकम्मरको समस्यामा पनि कमि आएको उनले बताए । उनले भने, ‘यो हाम्रा लागि निकै राम्रो भएको छ । बिहान आएर यहाँ व्यायाम गर्दा शरीरलाई फाइदा भएको छ, भने साथीभाइसँग पनि भेटघाट हुने गर्दछ । म यहाँ नियमित आएर व्यायाम गर्ने गरेको छु ।’ यस्तै उनले यसलाई अझै राम्रो बनाउन थप व्यायामका सामाग्रीहरू थप्न जरुरी रहेको समेत बताए । उनले भने, ‘यस्तो व्यायाम गर्ने ठाउँ भनेको निजीहरूले राखेका हुन्छन् । त्यहाँ पैसा तिरेर जानु पर्ने हुन्छ । तर, यहाँ सबै निःशुल्क रहेको छ । अझ आधुनिक व्यायाम गर्ने उपकरण भए अझ राम्रो हुने थियो ।’

यस्तै तुलसीपुर–१८ मनिकापुरका सागर पनि दैनिक करिब ४ किलोमिटर दूरीमा रहेको यो व्यायाम शालामा आउने गरेका छन् । बिहान ५ बजेदेखि ६ बजेसम्म नियमित व्यायाम गर्दै आएको भन्दै उनले आफूलाई खुट्टा दुख्ने समस्या रहेकोमा यहाँ आएर व्यायाम गर्दा ठिक भएको बताए । उनले भने, ‘मलाई खुट्टा दुख्ने निकै समस्या रहेको थियो । जब म यहाँ नियमित आएर व्यायाम गर्न थाले अहिले त्यो समस्याबाट मुक्त भएको छु । यो मेरा लागि निकै प्रभावकारी भएको छ ।’

यस्तै उनले पछिल्लो समय खानपिन लगायत कुरा नमिल्दा धेरै नागरिकहरू विभिन्न नसर्ने रोगबाट पीडित भएको भन्दै यो खुला व्यायाम शालाको प्रयोग गर्नु पर्ने समेत बताए । उनले यस्ता ठाउँहरू प्रत्येक गाउँ टोलहरूमा हुनु पर्ने भन्दै यसमा अझ स्थानीय सरकारले ध्यान दिनु पर्ने समेत बताए । उनले अस्पताल परिसरमा रहेको यो नागरिक आरोग्य शालाले धेरै राम्रो काम गरेको पनि बताए । यस्तै उनले पछिल्लो समय आधुनिकताको नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा दिनदिनै नसर्ने रोगीको संख्या बढ्दै गइरहेको हुँदा त्यसबाट बच्नको लागि नियमित व्यायाम, योग र खानपिनमा ध्यान दिन जरुरी रहेको समेत बताए ।

शुनिल र सागर त प्रतिनिधिपात्र मात्रै हुन् । केहि बर्षदेखि प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा सुरु भएका खुल्ला नागरीक व्यायमशालामा दैनिक दर्जनौंले शारीरिक अभ्यास गर्ने गरेका छन् । निशुल्क रुपमा उपलव्ध हुने सो व्यायमशालामा दिनहु सहभागि हुनेहरुको आकर्षण बढिरहेको अस्पतालले जनाएको छ । विशेषगरी नसर्ने रोगहरुको उन्मुक्तिसंगै मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्न पनि आयुर्वेद विधामा नागरीक आरोग्य केन्द्रको परीकल्पना गरिएको हो ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ आम नागरिकहरूलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ बनाउनको लागि र नसर्ने रोगबाट बचाउनको लागि राज्यले खुला नागरिक आरोग्य शाला नीति ल्याएको हो । करिब ५ वर्ष पहिले देखि नै अस्पताल परिसरमा स्थापना गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा। सन्तोष कुमार ठाकुरले बताए ।

यस्तै उनले खुला व्यायाम शालाको उद्देश्य राम्रो भएको भन्दै उनले यहाँका स्थानीयहरूले यसबाट लाभ लिइरहेको समेत बताए । उनले अस्पतालमा बिहान ४ बजेदेखि योग शिविर पनि संचालन हुने गरेको बताए । उनले स्थानीयहरुलाई खुला व्यायाम शाला र योगमा आएर सेवा लिन समेत आग्रह गरेका छन् ।

राज्यले ‘स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवन’ भन्ने अवधारणा अनुसार नागरिक आरोग्य कार्यक्रम सञ्चालन निर्देशिका २०७६ ल्याएको छ । त्यही अनुसार दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा खुला नागरिक आरोग्य शालामा स्थानीय नागरिकहरू आएर दैनिक व्यायाम गर्ने गरेका छन् । यसले गर्दा आफूहरूलाई धेरै सहज भएको उनीहरूको भनाइ छ । पछिल्लो समय जिल्ला अन्य स्थानीय तहमा पनि यो अवधारणा शुरु भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस