व्यवहारिक सीपसँग जोडिदै न्यु स्टार वोर्डिङ स्कूलका विद्यार्थीहरु

विजौरी । व्यक्ति जन्मेदेखि मृत्युसम्म आवश्यक हुने दुना टपरीको संस्कृति लोप हुँदै जान थालेसँगै विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यस सम्बन्धी जानकारी दिँदै प्रयोगात्मक तालिम दिन थालिएको छ ।

दाङको विजौरीमा अवस्थित न्यु स्टार वोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाहरुले दुना टपरी बनाउने तालिम सिकिरहेकाछन् ।


सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उद्देश्यले स्कुलले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको प्रिन्सिपल शरण जिएमले जानकारीदिनु भएको छ । पढाइसँंगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले कक्षा ७ देखि १० कक्षामा अध्ययरत छात्राहरुलाई दुना टपरी बनाउने तालिम प्रदान गरेको हो । साथै उक्त दुना टपरीका प्रशिक्षकमा शिक्षिका भगवती न्यौपाने र रन्जु भण्डारी रहनु भएको छ ।

साल तथा अन्य पातबाट बनाइने दुना टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै गएकोले यसको संरक्षणको लागि तालिमको आयोजना गरिएको प्रिन्सिपल जिएमले जानकारी दिनुभयो । ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्य सहित छात्राहरुलाई दुना, टपरी बनाउने जीवनोपयोगी परम्परागत सीप प्रदान गरेका हौ’–प्रिन्सिपल जिएमले भन्नुभयो – ‘विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत साठी जना विद्यार्थीलाई उक्त सिप उपलब्ध गराइएको छ ।’ इच्छुक अन्य विद्यार्थीहरुका लागि पनि उक्त सिप प्रदान गर्ने लक्ष्य विद्यालयले लिएको छ ।

त्यसै गरि उक्त विद्यालयमा हाउस वरिङको पनि तालिम सञ्चालन भैरहेको विद्यालयका कोर्डिनेटर ऋषिराज वलीले जानकारी दिनुभयो । सामान्य घरमा वल्भ राख्ने, प्लस, माइनसका वारेमा जानकारी तथा विद्युतिय दुर्घटनावाट वच्नका लागि आवश्यक भएको भन्दै घरायसी तथा व्यवहारीक तालिमको आवश्यक पर्ने भएकोले यस प्रकारको तालिमका आवश्यक भएको प्रिन्सिपल जिएमले जानकारी दिनु भयो ।

कितावी ज्ञानसँगै अतिरिक्त ज्ञान हुनु पर्ने भन्दै कविता लेखन तथा उदघोषण तालिम समेत दिइएको प्रिन्सिपल जिएमले जानकारी दिनुभयो । कविता, कथा लेखनमा प्रमोद धिताल र सूर्य विसी हुनुहुन्छ भने उदघोषण तालिमका प्रशिक्षकमा ऋषिराज वली र सेवक मल्ल हुनुहुन्छ । त्यसै गरि नापी सम्वन्धि व्यवहारीक ज्ञान तथा शिक्षाका लागि चुडामणी रावत रहेको विद्यालयका शिक्षक विष्णु धितालले जानकारी दिनु भएको छ । हाउस वरिङ, उदघोषण र नापि तालिमका लागि कक्षा ७ देखि १० कक्षासम्मका साठी जना छात्रहरु रहेको शिक्षक धितालले जानकारी दिनुभएको छ ।


यस विद्यालयले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस