बेसीशहर । वरिष्ठ पत्रकार एवम् स्वतन्त्र पत्रकार संघ नेपालका पूर्वमहासचिव नवराज पहाडी रास्वपा लमजुङको सल्लाहकार परिषद संयोजक चयन हुनु भएको छ । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला भेलाद्वारा साउन २६ गते सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो ।
पत्रकारिताको माध्यमबाट निर्भिक एवम् निर्धानिमुखाको आवाज बन्दै आउनु भएका पहाडी कुशल संगठनकर्ता समेत मानिनु हुन्छ । उहाँ स्वतन्त्र पत्रकार संघ नेपालको महासचिव हुँदा १२ जिल्लामा रहेका संघका शाखा विस्तार भई २५ जिल्लामा पुगेको श्रेय पहाडीलाई नै जान्छ । लमजुङमा सामाजिक व्यक्तित्वका रुपमा समेत चिनिनु भएका उहाँले २०४९ सालमा द रेयुकाई लमजुङको संस्थापक अध्यक्ष भई आफ्नो अन्तरगत लमजुङमा तीन इकाई र दोलखाको जिरीमा समेत उपशाखा सञ्चालनमा आएको थियो ।
पछिल्ला दिनमा लमजुङमा उत्पत्ती भएर लोपोन्मुख अवस्थामा पुगेको ‘ठाडोभाका’को संस्थापक अध्यक्ष भई उहाँले २०७२ सालदेखि काम गर्न थाल्नु भएपछि यतिबेला ‘ठाडोभाका अब मर्दैन’ भन्ने सुनिश्चित भएको छ ।
साहित्यक्षेत्रमा समेत उत्तिकै रुचि राख्नु हुने उहाँका चार कृति प्रकाशित छन् । उहाँको संयोजकत्वमा पाँच पटक राष्ट्रव्यापी मुक्तक प्रतियोगिता सम्पन्न भएको छ भने गत वर्ष लमजुङमो उहाँकै संयोजकत्वमा राष्ट्रव्यापी कविता प्रतियोगिता समेत भएको थियो । पहाडी लमजुङमा ‘भिजन भएको क्रियाशील व्यक्तित्व’का रुपमा परिचित हुनुहुन्छ ।
रास्वपाका जिल्ला संयोजक धर्म केसीको विशेष उपस्थितिमा भएको सो भेलाको उदघाटन उहाँले नै गर्नु भएको थियो । राष्ट्रिय गानबाट सुरु गरिएको जिल्ला भेलाको कार्यक्रममा विभिन्न पालिका तथा वडाबाट आएका पदाधिकारी तथा सदस्य एवम् शुभचिन्तकहरूले सर्वसम्मत रुपमा जिल्ला सल्लाहकार परिषद गठन गरेका हुन् । जिल्ला भेलाले जिल्ला सल्लाहकार परिषदको संयोजकमा नवराज पहाडी, सहसंयोजकमा ठाकुरप्रसाद सुवेदी र सचिवमा बाबुराम अधिकारीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा लक्ष्मीप्रसाद तिमिल्सिना, माधव थापा, नन्दबहादुर गुरुङ, कुशबहादुर गुरुङ र सेतीमाया तामाङ हुनुहुन्छ । जिल्ला सल्लाहकार परिषद २१ सदस्यीयसम्म हुन सक्ने विधानमा व्यवस्था छ । तर तत्काल तदर्थ रुपमा बढीमा १५ सदस्यीय बनाउने र बाँकी सदस्य निकट भविष्यमै पूर्ति गरिने भएको सो पार्टीका जिल्ला संयोजक धर्म केसीले बताउनु भएको छ ।
सोही भेलाले बेसीशहर नगरपालिकास्तरीय विभिन्न विभाग समेत गठन गरेको छ । प्राप्त जानकारी अनुसार संगठन विभाग प्रमुख होमबहादुर राउत, जनसम्पर्क विभाग प्रमुख बेलबहादुर घिमिरे, महिला तथा सामाजिक सेवा विभाग प्रमुख मीना खड्का, उद्योग तथा वाणिज्य विभाग प्रमुख सविता अधिकारी बराल र अभियान तथा प्रचारप्रसार विभाग प्रमुख भरत थापा चयन हुनु भएको बेसीशहर नगर सभापति कृष्ण राउतले जानकारी दिनुभयो । उहाँका अनुसार विभागहरू सात सदस्यीय हुने र अन्य पदाधिकारीहरु तथा सदस्यहरूको चयन विभाग प्रमुखले गर्न सक्ने बताइएको छ ।
जिल्ला संयोजक धर्म केसीको अध्यक्षतामा भएको उक्त भेलामा स्वागत मन्तव्यका साथमा कार्यक्रमको उद्देश्यमा जिल्ला सहसंयोजक अशोक सापकोटाले प्रकाश पार्नु भएको थियो भने सञ्चालन निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडा अध्यक्ष प्रकाश थापाले गर्नु भएको थियो ।


