दाङ । आज ३० औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । नेपालका आदिवासीले पनि यो दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा तय गरेको छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घले ‘स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
आज आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृतिसहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्ग देखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष दिवस मनाउन थालिएको हो ।


