महिला एसिया कप क्रिकेटमा नेपाल आज दोस्रो जितका लागि पाकिस्तानविरुद्ध मैदान ओर्लिदै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलंकाको डम्बुला मैदानमा साँझ सवा ७ बजे हुनेछ ।

पाकिस्तान पहिलो जितको खोजीमा नेपालसँग भिड्दैछ भने नेपाल दोस्रो जितको खोजिमा हुनेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित दर्ता गरिसकेको छ ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ भने युएई आफ्नो दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ । यी दुईबीचको खेल भने दिउँसो सवा २ बजे हुनेछ ।

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आठ टोली सहभागी छन् ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ ।

त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस