दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न ४३ लाख अनुदान

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो। उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु ९० लाख बजेट विनियोजन भएकामा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उहाँको भनाइ छ ।

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताउनुभयो । कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस