अध्यक्ष वलीको योजना – सुरक्षित गर्भवती देखि दूधमा अनुदानसम्म

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले सुरक्षित गर्भवती, स्वस्थ बच्चा कार्यक्रमलाई अघि सारेको छ । यसका लागि वडाले गर्भवती महिलाको पहिचान, उनीहरूले स्वास्थ्य संस्थामा गएर चेकजाँच गरे या नगरेको विषयमा अभिलेखीकरण गर्ने छ । त्यसैगरी नवजात शिशुको स्वास्थ्य अवस्थाको विषयमा बुझ्नका लागि घर घरमा पुगेर नियमित जानकारी लिने वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । मातृशिशु मृत्युदर न्यूनिकरणका लागि यस्तो अभियान सञ्चालन गर्न थालिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

‘वडामा रहेका सबै गर्भवती र नवजात शिशुको महिलाको पहिचान गरेर गर्भवतीलाई प्रोटोकल अनुसार ८ पटक स्वास्थ्य संस्थामा गएर चेकजाँचका लागि प्रोत्साहित गर्छौ । निम्न वर्गको हुनुहुन्छ । आमाको दूध आउँदैन तर सँधै पाउडर दूध किनेर खुवाउन सक्ने अवस्था छैन भने त्यस्तालाई हामी पोषिलो खानेकुराका लागि आर्थिक सहयोग गर्छौ ।’ अध्यक्ष वलीले भन्नुभयो ।

त्यसैगरी वडाले दुग्ध उत्पादन किसानलाई अनुदान दिने तयारी पनि गरेको छ । पशुपालन गरेर दूध उत्पादन गर्दै आइरहेका किसानलाई प्रति लिटर एक रुपैयाँका दरले अनुदान दिने वडाले जनाएको छ । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम र संस्कारिक शिक्षाको विकासका लागि वडामा हेलो नमस्कार कार्यक्रम पनि सञ्चालन गर्न लागेको छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस