काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ ।
वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।
आँपको सिजन सुरु नहुँदै बजारमा आउने उत्पादनले चर्को मूल्य लिने गरेको पाइएको छ ।
प्रतिवेदन अनुसार आँप (मालदह) को ६ जेठको मूल्य प्रतिकिलो २३३.३३ रुपैयाँ रहेको रेकर्ड छ । यो कालिमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले पठाएको मूल्यका आधारमा विभागले विश्लेषण गरेको हो ।
१३ जेठ मा मालदह आँपको मूल्य प्रतिकिलो २१० रुपैयाँमा झरेको थियो । २० जेठमा मालदह आँपको मूल्य ११० रुपैयाँमा झरेको छ । २७ जेठमा आइपुग्दा मालदहको मूल्य ९५ रुपैयाँमा झरेको विभागको विश्लेषणमा देखिएको छ ।
एक महिनामा आँपको औसत मूल्य प्रतिकिलो १६२.०८ रुपैयाँ रहेको छ ।
दसहरी आँपको मूल्य ६ जेठका दिन प्रतिकिलो १७० रुपैयाँ थियो । १३ जेठमा १७० नै कायम रहेको दसहरी आँपको मूल्य २० जेठमा ११० मा झरेको थियो । २७ जेठमा आइपुग्दा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।
कलकत्ते आँप ६ जेठमा १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो । १३ जेठमा सोही मूल्य कायम थियो । २० जेठमा ११० रुपैयाँमा झरेको कलकत्ते आँपको मूल्य २७ जेठमा आउँदा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।
जेठ महिनामा मूल्यमा तीव्र परिवर्तन हुने वस्तुमा मालदह र दसहरी आँप अगाडि छन् । यी दुई वस्तुको मूल्यमा क्रमशः ५९.२९ र ५४.७६ प्रतिशतको परिवर्तन रहेको छ ।
जेठ महिनामा उच्च मूल्य परिवर्तन भएका वस्तुमा भने गोलभेँडा सानो (लोकल) सबैभन्दा अगाडि छ ।
६ जेठमा ५५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडाको मूल्य २७ जेठमा ३७.३३ रुपैयाँमा झरेको थियो । यो ६७.८७ प्रतिशतको परिवर्तन हो ।
हरियो धनिया ६ जेठमा ३२६ रुपैयाँमा कारोबार भएको थियो । जुन २७ जेठमा पुग्दा २१६ रुपैयाँमा झरेको थियो । यो ६६.३३ प्रतिशतको उतारचढाव हो ।
स्थिर मूल्य भएका तरकारी र फलफुलमा आलु रातो प्रतिकिलो ४७, तने बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोसा १७० र पाकेको फर्सी ४० रुपैयाँ रहेका छन् ।