दाङ– मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ । अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।
पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतवारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ ।
देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


