वर्षाका बिथोलेको टी–२० विश्वकपको खेलमा अस्ट्रेलियासँग बाङ्लादेश पराजित भएको छ।
आईसीसी टी–२० विश्वकपको ‘सुपर–८’मा अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अस्ट्रेलियाले बाङ्लादेशलाई २८ रनले पराजित गरेको हो। बाङ्लादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाएर १०० रन बनाएको थियो।
त्यसपछि वर्षाका कारण खेल हुन सकेन। डीएलएस बिधिका आधारमा अस्ट्रेलिया विजयी भएको घोषणा गरिएको थियो।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतक बनाए। उनले ३५ बलमा पाँचा चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए।
त्यस्तै, ट्रेभिस हेडले ३१ र ग्लेन म्याक्सवेलले १८ रन बनाए। बाङ्लादेशका लागि रिशद होसैनले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको बाङ्लादेशले आठ विकेटको क्षतिमा १४० रन बनाएको थियो। बाङ्लादेशका लागि नजमुल हुसैन शान्टोले ४१, टोह्विड हृदयले ४०, लिन्टन दासले १६ र तस्किन अह्मदले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन, अडम झम्पाले दुई, मिचेल स्टार्क, मार्क्स स्टोइनिस र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए।
यो जितसँगै ‘सुपर–८’को समूह ‘१’मा रहेको अस्ट्रेलिया दुई अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। एक खेल जितेको भारतको पनि दुई अंक छ। बाङ्लादेश र अफगानिस्तानले भने अंक जोड्न सकेका छैनन्।
त्यस्तै, समूह ‘२’मा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको पनि दुई–दुई अकं छ। अमेरिका र वेस्ट इन्डिजले अंक जोड्न सकेका छैनन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।


