जोतभोग नखोस्न दाङका किसानको माग

घोराही– किसानले जोतभोग गर्दै आएको जग्गा नखोस्न किसानले माग गरेका छन् । गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठको झण्डै दुई सय विगाह जग्गा जोतभोग गर्दै आएका करिब आठ सय घरधुरी किसानले जोतभोग गर्न दिन माग गरेका हुन् ।

घोराही उपमहानगरपालिकाको दुवीचौराहा, चागु, जलौरा, उत्तर अम्राई र दक्षिण अम्राईका किसानले आफूमाथि अन्याय भएको भन्दै जोतभोग गर्न दिन माग गरेका हुन् । दुवीचौराहा, चागु, जलौरा, उत्तर अम्राई र दक्षिण अम्राईका किसानले आफूहरुले जोतभोग गर्दै आइरहेको जग्गा ठेक्कामा लगाउन थालिएको भन्दै विरोध जनाएका हुन् । गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठले २०८० चैत २३ गते टेण्डर आह्वान गरेर उत्तर अम्राईको २० विगाहा तीन कट्ठा तीन धुर जग्गा ठेक्कामा लगाएको भन्दै पीडितको तर्फबाट अगुवा बुद्धिराम चौधरीले त्यसको विरोध गरिने बताउनुभयो । उहाँले कट्ठाको एक हजार पाँच सय नघट्ने गरी टेण्डर आह्वान भएको र अहिलेको अवस्थामा किसानले महंगोमा ठेक्कामा लिन नसक्ने बताउनुभयो ।

‘यहाँ पुस्तौंदेखि जोतभोग गरिरहेका किसानलाई ठेक्काको रसिद दिएर बाहिरी मान्छेलाई जोतभोगको रसिद दिइएको छ’– उहाँले भन्नुभयो– ‘पुस्तौंदेखि उब्जाउको आधारमा बाली बुझ्दै आएको गुठीले त्यो पनि बुझ्न छाडेको छ । हामीलाई जोतभोगको रसिद दिएर जोतभोग गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने बताउँदै उहाँले किसानका गुनासा सुनिदिन सरोकारवाला निकायसँग अनुरोध गर्नुभयो ।

दुवीचौराहामा ५५ विगाह क्षेत्रफलमा एक सय घर, चागुमा ५० विगाह क्षेत्रफलमा दुई सय ५० घर परिवार, जलौरामा आठ विगाह क्षेत्रफलमा एक सय ७० घर परिवार, उत्तर अम्राईमा ४० विगाह क्षेत्रफलमा एक सय ३० घर परिवार र दक्षिण अम्राईमा ४० विगाह क्षेत्रफलमा एक सय ५० बढी घरपरिवार किसानले जोतभोग गरिरहेको किसानले दावी गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस