तुलसीपुर । दाङको तुलसीपुरमा चर्को घामका कारण खेतीबाली सुक्न थालेको छ । तुलसीपुरका विभिन्न क्षेत्रमा लगाइएको मकैबाली देखी तरकारीका बोटविरुवाहरुसमेत खडेरीले सुक्न थालेको किसानहरुले बताएका छन् । लामो समयदेखी पानी नपर्दा बारीमा लगाएका तरकारीका विरुवाहरु घामले जलेर नष्ट भएको तुलसीपुर–१५ दक्षिण कुररियाका अगुवा कृषक कृष्ण आचार्यले बताउनुभयो । आफुलगाएत छिमेकीको गरी झण्डै १० विगाह भन्दा धेरै जमिनमा लगाएको मकै लगाएत तरकारी बाली सुकेर जान थालेको उहाँले बताउनुभयो ।

लामो समयपछि गएराती परेको पानीले भने दाङमा केही शीतलताको महसुश भएको छ । तर, सुक्न थालेका धानका व्याड, मकै, तरकारी लगायत कृषि बालीलाई राहत हुने अपेक्षा गरिएपनि त्यस अनुसारको पानी भने पर्न नसकेको किसानहरु बताउछन् । धानको व्याड नराखेको ठाउँमा व्याड राख्ने गरी पानीको आवश्यकता भएपनि पानी पर्न नसकेको किसानहरुको भनाई छ । लामो समयसम्मको खडेरीका कारण दाङको तुलसीपुरका विभिन्न क्षेत्रमा खानेपानी देखी सिंचाईका लागीसमेत पानीको अभाव हुन थालेको छ ।।


