अबिरल वर्षाका कारण बुटवलका बिभिन्न क्षेत्र डुबानमा

रुपन्देही– गएरातीदेखि परेको अविरल वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो खडेरीपछि यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् ।

डुबानका कारण बजार क्षेत्रमा धेरै नोक्सानी व्यहोर्नु परेको व्यवसायीहरूले बताएका छन् । केही स्कुलमा विद्यार्थीहरुलाई बिदा दिइएको छ । सोह्रछत्तिस कुलोको छेलमा रहेको न्यू होराइजन स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

वडा नं ११ मा कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । बुटवलस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेका अधिकांश ठाउँमा क्षतिको आंकलन भैरहेको बताउनुभयो ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय सार्न थालिएको बताउनुभयो ।

स्थानीय उद्यमी चन्द्र खनालले धेरै समयदेखि टोलविकास संस्थाहरुर्ले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाव दिनुभएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस