उत्तर कोरियाका ह्याकरद्वारा दक्षिण कोरियाको अदालतको कम्प्युटरबाट डाटा चोरी

प्योङयाङ : उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डाटा चोरेको सोल प्रहरीले शनिबार बताएको छ ।

आणविक सशस्त्र सम्पन्न उत्तर कोरियाले विदेशमा हजारौँ ह्याकरको सेना सञ्चालन गरेको बताइन्छ । विगतमा धेरै ठूला साइबर हमलाका लागि उत्तर कोरियालाई दोषी ठहर गरिएको छ ।

ह्याकरहरूले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म एक अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डाटा चोरेको मुलुकको जासुसी एजेन्सी र अभियोजकहरूसँगको संयुक्त अनुसन्धानलाई उद्धृत गर्दै दक्षिण कोरियाली प्रहरीले बताएको छ ।

ह्याकरहरूको मालवेयरले दक्षिण कोरियालीहरूको विवाह र व्यक्तिगत ऋण रेकर्डसहितको चोरी डाटा ‘चार घरेलु र चार विदेशी सर्भर’ लाई ‘एन्टिभाइरस सफ्टवेयरले पत्ता लगाउनुअघि’ पठाएको राष्ट्रिय प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

अधिकारीहरूले पत्ता लगाएका दुर्भावनापूर्ण कार्यक्रम, सर्भर भुक्तानी विवरण र आइपी ठेगानाहरू प्योङयाङलाई श्रेय दिएका पहिला ह्याकिङका घटनाहरूमा पहिचान गरिएकाहरूसँग तुलना गरेपछि डाटा चोरीमा उत्तर कोरियाली ह्याकिङ सङ्गठनको काम भएको पाइयो ।

सोल अधिकारीहरूले चोरिएको डाटाबाट चार दशमलव सात गिगाबाइट मात्र पुनःप्राप्त र पहिचान गरेको प्रहरीले बताएको छ । यसमा व्यक्तिगत ऋण पुनरवास मामिलासँग सम्बन्धित पाँच हजार एक सय ७१ दस्तावेज सङ्गृहीत छन् । जसमा विवाह प्रमाणपत्र, ऋण र दिवालिया हुनुपर्ने कारण समावेश छ ।

उत्तर कोरियाले उसको आणविक र मिसाइल कार्यक्रमहरूमाथि लगाइएको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धको सामना गर्न विदेशी मुद्रा आर्जन गर्नका लागि हालैका वर्षहरूमा साइबर हमलालाई बढाएको विश्लेषकहरूले बताएका छन् ।

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङ एक्लैले सन् २०२२ मा क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढीको चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधिहरू’ मार्फत जानकारी सङ्कलन गरेर आफ्नो हतियार कार्यक्रमलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस