लुम्बिनी प्रदेशमा बढाइँदै स्काउट सङ्ख्या

तुलसीपुर l लुम्बिनी प्रदेशमा स्काउटको सङ्ख्या बढाउन थालिएको छ । अहिले लुम्बिनी प्रदेशमा स्काउटको सङ्ख्या बाइस हजार रहेको छ । स्वयमसेवी संस्थाका रूपमा स्थापना भएको स्काउटको सङ्ख्या एक लाख ३२ हजार पु¥याउन थालिएको छ ।

नेपाल स्काउट लुम्बिनी प्रदेश प्रमुख आयुक्त लिलानाथ ढकालका अनुसार प्रदेशका एक सय नौ वटै पालिकास्तर सम्म पुगेर स्काउट सदस्य बढाउनका लागि स्काउट मास्टर जनशक्ति तयार पार्न थालिएको छ । ढकालका अनुसार स्काउट शिक्षालाई प्रत्येक पालिकामा पु¥याएर बालबालिकाहरूमा नेतृत्व, व्यक्तित्वविकास, अनुशासित र समाजप्रति उत्तरदायित्व बढाउन सकिने बताउनुभयो । उहाँले स्काउट पाठ्यक्रमलाई समेत परिमार्जन र परिस्कृत गर्दै लैजाने बताउनुभयो ।उहाँले बालबालिकाहरूमा कर्तव्यबोध र उत्तरदायित्वबोध गराउनकालागि स्काउट शिक्षा अनिवार्य रहेको बताउनुभयो । स्काउट मास्टर कृष्ण पौडेलले स्काउट शिक्षालाई विद्यालयस्तरमा पु¥याउनकालागि प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले विद्यालयतह सम्मै स्काउट शिक्षा पु¥याउनकालागि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट स्काउट मास्टर तयार पारिएको बताउनुभयो । उहाँले दिक्षित गरिएका स्काउट मास्टरले कक्षाकोठामै पुगेर विद्यार्थीहरूलाई स्काउट शिक्षा दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले स्काउट शिक्षालाई अनिवार्य गर्नका लागि स्थानीय पाठ्यक्रममा स्काउटको विषयलाई प्राथमिकता दिएर प्रकाशन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई नैतिकवान्, चरित्रवान् र अनुशासित तुल्याउनकालागि स्काउट शिक्षा प्रत्येक विद्यालयमा अनिवार्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस