राजपुर हाटबासका अग्निपिडितलाई रोजी बड्सको सहयोग

लमही– राजपुर गाउँपालिका -७ हाटबासका अग्निपिडितहरुलाई लमही स्थित रोजि बड्स बालबाटिका सेकेण्डरी स्कुलले आर्थिक सहयोग गरेको छ । शिक्षक शिक्षिका तथा विद्यार्थी सहित हाटबास पुगेर नगद २९ हजार ८ सय ८१ रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बासन न्यौपानेले जानकारी दिनु भयो । साथै १ सय ५० थान कपडापनि सहयोग गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका तथा विद्यालयको सहयोगमा लत्ताकपडा र रकम संकलन गरिएको थियो । साथै विद्यालयले अग्निपिडित विद्यार्थीलाई छात्रबृत्तीमा पढाउने घोषणा समेत गरेको छ । अग्निपिडितका ५ बालबालिकालाई वडाको सिफारिसका आधारमा छात्रबृतीमा अध्यापन गराउने प्रधानाध्यापक न्यौपानेले बताउनु भयो ।

गत १६ गते बगरमा लागेको आगो बस्तिमा सल्किदा २५ घर पुर्णरुपमा जलेर सखाप भएका थिए । अग्निपिडितहरु अहिले त्रिपालमुनी बस्दै आएका छन । अग्निपिडितको पुनर्वासका लागि विभिन्न पालिका तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन । राजपुर गाउँपालिकाले आर्थिक सहयोगको अभियाननै चलाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस