बालविवाह रोक्न बालबालिकाले जनाए प्रतिबद्धता

लमही / लमही लमहीका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले बालविवाह रोक्न आफुहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

पालिकाले ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले पालिकामा हुने बालविवाहलाई रोक्न आफुहरु सक्रिय रहने बताएका छन । नगरपालिकाले आयोजना गरेको बालविवाह न्यूनीकरण सम्बन्धि संचालित कार्यक्रमले सहभागी आफुहरुलाई सचेत मात्र नगराई कलिलै उमेरमा विवाह गर्न हुँदैन भन्ने कुराको समेत ज्ञान प्राप्त आदर्श नमूना माध्यामिक विद्यालय देउपुरकी छात्रा वर्षा केसीले बताईन ।

बालविवाह, बेचबिखन जस्ता घटनामा चनाखो हुनु पर्दो रैछ, यस्ता कुरालाई मनमा गुम्साएर राख्दा यस्ता घटनाले अझै प्रसय पाउने भएकोले हामीले यी कुरालाई अभिभावक तथा प्रहरीलाई जानकारी दिनु पर्ने छात्रा केसीले बताईन । यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरंतरता दिनु पर्ने आदर्श नमूना माध्यामिक विद्यालय देउपुरकी छात्रा अन्जली चौधरीले बताईन । यो कार्यक्रमले हिम्मत बढाएको छ । अब गाउँघरमा बालविवाह हुन लागेमा प्रहरीलाई खबर गरि रोक्ने उनले प्रतिबद्धता जनाईन ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बालविवाह कानूनतह: अपराध भएको बताईन । लमही नगरपालिकाले आयोजना गरेको बालविवाह न्यूनीकरण सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख योगीले बालविवाह गर्ने र गराउने दुबै समाजका धमिरा भएको बताउदै त्यस्ता व्यक्तिलाई कानूनी कठघरामा उभ्याउनु पर्ने उनको भनाई छ । अर्काको लहलहैमा लागेर गलत बाटो समाउने, बाबुआमाको भनाई नमान्ने जस्ता गलत प्रवृतीका कारण अहिलेका बालबालिका यौनजन्य शिकार हुने गरेका छन, मानसिक र शारीरिक रुपमा पनि बालबालिका अपराधीहरुको सिकार हुने गरेको उनको बुझाई छ ।

ग्रामीण बस्तिमा बालबालिकालाई सानै उमेरमा विवाह गरिदिने परम्परा जस्तै बनेको उपप्रमुख योगीले बताईन । सानै उमेरमा केटाकेटी विच मन मिल्यो, माया बस्यो भागेर विहे गर्ने, फेरि स्कुल आउने गरेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कूलचन्द्र पौडेलले बताए । केही समय अगाडी सानै उमेरमा विवाह गरि स्कुल आएकालाई हामीले आउनै नदिने भनेर भनेपछि विवाह पछि विद्यालय आउन छोडेका छ्न”- प्राचार्य पौडेलले भने । मोबाईलको प्रयोगले पनि अहिले यस्तो खालको प्रवृती बढेको प्राचार्य पौडेलको दावी छ ।

बालविवाह रोक्नका लागि राजनीतिक दल, प्रहरी प्रशासन, अभिभावक सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्न जरुरी रहेको उनले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले बालविवाह बढ्दो क्रममा रहेको बताए । उनी भन्छन ‘यो प्रवृती रोक्न बालबालिकानै प्रयोग गर्न पर्छ जस्तो लाग्छ, किनभने आफ्ना दरौली केटाकेटी साथीहरुले के गर्दैछन कता जाँदै छन भन्ने कुराको सूचना रहेको हुन्छ ।

बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम लमही नगरपालिकाका ६ वटा सामुदायिक विद्यालयमा तीन दिनसम्म चलेको थियो । कार्यक्रमको प्रशिक्षकमा सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दिकी रहेकी थिईन ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस